७ श्रावण २०८३, बिहिबार

हिमालयन डिष्टीलरीले गर्यो एकै वर्ष ७ अर्ब २० करोडको व्यापार, २.६१ गुणा बढ्यो नाफा



काठमाडौं । हिमालयन डिष्टीलरी लिमिटेडको नाफामा उल्लेख्य सुधार भएको छ । कम्पनीको नाफा साढे दुई गुणा बढेको छ ।
कम्पनीले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ९५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा २.६१ गुणा अर्थात् १६१.१३ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीको खुद नाफा ३६ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको व्यापार विस्तारसँगै आम्दानी बढेपछि नाफा वृद्धि भएको हो । गत आवमा कम्पनीको व्यापार ७३.३० प्रतिशत बढेर ७ अर्ब २० करोड ११ लाख रुपैयाँ कायम भएको छ । जबकि, अघिल्लो आवमा ४ अर्ब १५ करोड ५२ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

यता, कम्पनीको संचालन नाफा पनि १६६.७८ प्रतिशत वृद्धि भई १ अर्ब २८ करोड ८१ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको गैर संचालन आम्दानी पनि ६ करोड ६९ लाख रुपैयाँ देखिएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि १७.३६ रुपैयाँ बढेर ३१.०२ रुपैयाँ कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने १३५.८४ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्