आज राति भेट्दैछन् ट्रम्प र पुटिन, रोकिएला युक्रेन युद्ध?
काठमाडौँ। साढे तीन वर्षदेखि युक्रेनमा जारी युद्ध अन्त्य गर्ने महत्वाकांक्षासहित आज राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच शिखर वार्ता हुने भएको छ।
विश्व शक्ति सन्तुलनमा दुई भिन्न ‘धुरी’का राष्ट्रप्रमुखहरू नेपाली समय अनुसार भरे राती सवा १ बजे अमेरिकाको आलश्का राज्यमा भेट्दै छन्।
अमेरिकाको मूल भूमिभन्दा निकै टाढा, क्यानडाको पश्चिम तटीय क्षेत्रमा पर्ने आलश्का राज्य पहिले रुसकै हिस्सा थियो। उक्त भूखण्ड केवल १५८ वर्षअघि रूसले ज्यादै सस्तो मूल्यमा अमेरिकालाई बेचेको थियो।
त्यसबेला प्रतिएकड २ सेन्ट भन्दा पनि सस्तो भाउमा अर्थात् जम्मा ७२ लाख अमेरिकी डलरमा रूसले त्यो भूमि बेचेको थियो। यो डेढ सय वर्षभन्दा लामो समयमा भएको अमेरिकी मुद्रास्फितिलाई समायोजन गर्दा पनि अहिलेको क्रयशक्ति मूल्यमा यसको भाउ १५ करोड ६४ लाख अमेरिकी डलर जति पर्न आउँछ।
नेपालभन्दा झण्डै १२ गुणा ठूलो यही राज्यको सबैभन्दा ठूलो सहर एङ्कोरामा दुई देशका राष्ट्रपतिहरू बैठक गर्दैछन्।
बैठकको सुरुवातमा दुई राष्ट्रपति एक्ला एक्लै भेट्ने छन् भने दोस्रो चरणमा दुवै देशका प्रतिनिधि मण्डलहरूलाई पनि सहभागी गराइनेछ।
त्यसपछि दुवै राष्ट्र प्रमुखहरू सहभागी भएर संयुक्त प्रेस वार्ता गर्न सक्ने भनिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त वार्ता सकिए लगत्तै युक्रेनी राष्ट्रपति भोलोदोमीर जेलेन्स्की र युरोपेली नेताहरूसँग भर्चुअल बैठक गर्ने पनि भनेका छन्।
पछिल्लो समय रुसले युक्रेनी भूमि कब्जा गर्ने अभियान शीघ्रता साथ अघि बढाइरहेको छ। उसले राजधानी किभमा पनि बारम्बार आक्रमण गरिरहेको खबरहरू आएका छन्।
युद्धमा लगातार जितिरहेको रुस र बिना शर्त युद्धविराम गर्न धम्काइरहेकाे अमेरिकाबीच युद्ध अन्त्य गर्ने विषयमा कुनै सम्झौता वा समझदारी हुन्छ कि हुँदैन भन्ने अहिलेसम्म स्पष्ट छैन।
तर संयुक्त प्रेस वार्ता गर्ने दुवै देशको पूर्व तयारीले कुनै न कुनै सहमतिको बिन्दु खोज्ने प्रयास भइरहेको ठानिएको छ।
उक्त युद्ध अन्त्य गर्न सके अमेरिकी राष्ट्रपति ट्रम्पका लागि यो सालको नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने बाटो खुल्नेछ। साथै हाम्रो छिमेकी भारतलाई पनि अमेरिकाले लगाइरहेको अतिरिक्त आयात शुल्कको ‘कारबाही’बाट बचाउनेछ।
रूस माथि दबाब सिर्जना गर्न र ब्रिक्स संगठनलाई कमजोर पार्न ट्रम्पले भारतमाथि ५०%को आयात शुल्क लगाएका छन्। रूससँग युद्ध अन्त्य गर्ने सन्दर्भमा कुनै सहमति भए यसको आधा अर्थात् २५% अतिरिक्त आयात शुल्क तत्काल हट्ने अपेक्षा गरिएको छ।
अन्यथा आगामी २७ अगस्टबाट भारतमाथि लगाइएको ५० प्रतिशत आयात शुल्क कार्यान्वयनमा जानेछ। त्यसो भएमा अहिले भारतबाट अमेरिकामा भइरहेको निर्यातको करिब ५५% हिस्सा प्रभावित हुन सक्ने बताइएको छ।
ट्रम्पले त भरे रातिको बैठकमा युद्ध अन्त्य गर्ने दिशातर्फ कुनै प्रगति नभए थप कठोर नीति अपनाउने धम्की दिइसकेका छन्।













