अर्थ मन्त्रालयमा ठूलो फेरबदल : सहसचिवदेखि महानिर्देशकसम्मको सरुवा, को कहाँ पुगे ?
काठमाडाैं । मुलुकको प्रशासनिक संरचनामा सहसचिव तथा अन्य वरिष्ठ अधिकृतहरूको महत्वपूर्ण जिम्मेवारी फेरबदल गरिएको छ।
सरकारकाे साउन ३० गतेकाे निर्णय अनुसार अर्थ मन्त्रालय तथा अन्तर्गतका निकायहरूमा विभिन्न पदमा सरुवा तथा पदस्थापन गरिएको हो।
जसअन्तर्गत, अर्थ मन्त्रालय वा अन्तर्गत सहसचिवको रूपमा कार्यरत सुमन दाहाललाई अर्थ मन्त्रालय वा अन्तर्गत सहसचिवको हैसियतमा बजेट तथा कार्यक्रम महाशाखा पठाइएको छ भने उद्धव प्रसाद पाण्डे अर्थ मन्त्रालय वा अन्तर्गत सहसचिवको रूपमा कार्यरत रहँदै आएका थिए, उनलाई योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखामा जिम्मेवारी दिइएको छ।
यस्तै यस्तै भन्सार विभागकाे महानिर्देशकबाट रमेश भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषक महाशाखामा पठाइएकाे छ भने अर्थमन्त्रालयका सहसचिव रहेका श्याम प्रसाद भण्डारीलाई भन्सार विभागकाे महानिर्देशककाे जिम्मेवारी दिइएकाे छ ।
यस्तै अर्थ मन्त्रालय वा अन्तर्गत सहसचिव रहेका टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, प्रमुख भन्सार प्रशासककाे जिम्मेवारी दिइएकाे छ ।
यस्तै अर्थ मन्त्रालय वा अन्तर्गत सहसचिव रहेका भरत मणी पाण्डेले भन्सार विभागकाे उपमहानिर्देशककाे जिम्मेवारी पाएका छन् ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकमा गएका छन् भने ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्यालले आन्तरिक राजस्व विभागका उपमहानिर्देशककाे जिम्मेवारी पाएका छन् ।
यसैगरी भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशककाे जिम्मेवारी दिइएकाे छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिलिप कुमार गाैतमलाई ठूला करदाता कार्यालयकाे प्रमुख कर प्रशासककाे जिम्मेवारी दिइएकाे छ भने आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पदम कुमार श्रेष्ठलाई मध्यमस्तरीय करदाता कार्यालयकाे प्रमुख कर प्रशासकका रूपमा पठाइएकाे छ ।
यस्तै सहमहालेखा नियन्त्रक बिष्णु प्रसाद ज्ञवालीलाई बीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासककाे जिम्मेवारी दिइएकाे छ।
यस सरुवाले मन्त्रालय र विभागहरूमा अनुभव, दक्षता र नेतृत्व क्षमता अनुसार जिम्मेवारी बाँडफाँड गरी कार्यसम्पादनमा गति ल्याउने अपेक्षा गरिएको छ।















