११ श्रावण २०८३, सोमबार

नेपाल आइपुगे भारतीय विदेश सचिव, प्रधानमन्त्रीलाई निम्ता दिने



काठमाडौँ। भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्री आइतबार बिहानै काठमाडौँ ओर्लिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई औपचारिकता दिने सिलसिलामा उनको यो नेपाल भ्रमण भएको हो।

काठमाडौँस्थित भारतीय दूतावासले मिश्रीको औपचारिक नेपाल भ्रमणका दौरान उनले केही शीर्षस्थ नेताहरुसँग उच्चस्तरीय भेटघाट गर्ने बताएको छ ।

उसले ‘छिमेक पहिले’ नीति अनुसार सचिव मिश्रीको नेपाल भ्रमण भएको जनाएको छ।

नेपालमा नयाँ सरकार गठन भएको निकै लामो समयसम्म भारतले प्रधानमन्त्री ओलीलाई स्वागत गर्न चाहिरहेको थिएन। तर पछिल्लो समय नेकपा एमाले भित्रको राजनीतिक समीकरणमा बदलाव देखिन थालेपछि अब भारत प्रधानमन्त्रीलाई स्वागत गर्न तम्सिएको छ।

बाङ्गलादेश र पाकिस्तान जस्ता छिमेकीहरूसँग राजनीतिक सम्बन्ध बिग्रिँदै गएको बेला भारतले नेपाललाई टाढा राखिराख्न नचाहेको रुपमा कतिपयले बुझेका छन्।

प्रधानमन्त्री ओलीले पटकपटक चाहँदा पनि आमन्त्रण नगरेको भारत अहिले विदेश सचिव नै पठाएर ओलीलाई निम्ता दिन थालेको छ।