गाजामा युद्धविराम र बन्धक रिहा गर्न हमास सहमत, इजरायली जवाफकाे प्रतिक्षा
काठमाडौं । गाँजामा ६० दिने युद्धविराम गर्न हमासले सहमति जनाएकाे छ । गाजामा युद्धविराम र बन्धक मुक्तिसम्बन्धी क्षेत्रीय मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा हमासले सहमति जनाएकाे बीबीसीले उल्लेख गरेकाे छ ।
उक्त प्रस्ताव अनुसार हमासले ५० जना बाँकी रहेका इजरायली बन्धकमध्ये करिब आधा जसमा जीवित रहेको अनुमान गरिएका २० जनालाई ६० दिनको प्रारम्भिक युद्धविराम अवधिमा दुई चरणमा मुक्त गर्नेछ। साथै, स्थायी युद्धविरामबारे थप वार्ता गर्ने सहमति पनि प्रस्तावमा उल्लेख गरिएको छ।
यसै वर्षको शुरूतिर संयुक्त राज्य अमेरिकाले तयार पारेको एउटा प्रस्तावमै टेकेर इजिप्ट र इजरेलले नयाँ प्रस्ताव अघि सारेका हुन्।
तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले अघिल्लो साता जारी वक्तव्यमा सबै बन्धक एकैपटक मुक्त नगरी कुनै सम्झौता नगर्ने बताएको थियो। तर यस युद्ध विराम प्रस्तावमा भने इजरायलले कुनै प्रतिक्रिया दिएकाे छैन ।
यता सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल ईयाल जामिरले भने यो युद्धको २२ महिनाको मोडको अवस्थामा पुगेको बताउँदै, गाजा सहरमा हमासविरुद्धको आक्रमण तीव्र पारिएको बताएका छन्।
यसैबीच, गाजा सहरमा रहेका प्रत्यक्षदर्शीहरूले इस्रायली ट्याङ्कहरू हवाई तथा तोप आक्रमणको साथमा अचानक दक्षिणी साबरा क्षेत्रमा प्रवेश गरेको र सयौं विस्थापित नागरिक रहेका संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित विद्यालय तथा क्लिनिकहरूलाई घेरा हालिएको बताएका छन्।
यसैसाता इजरायली मन्त्री परिषद्ले गाजा सहर कब्जा गर्ने सेनाको योजना स्वीकृत गर्ने अपेक्षा गरिएको छ। गाजामा हालसम्मकै सबैभन्दा तीव्र आक्रमणपछि हजारौं मानिस पुनः विस्थापित भएका छन्। नेतन्याहुले पछिल्लो महिना हमाससँगको अप्रत्यक्ष वार्ता विफल भएपछि गाजाको सम्पूर्ण क्षेत्रमा आक्रमण विस्तार गर्ने घोषणा गरेका थिए।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीले समेत कायरोमा इजिप्टका विदेशमन्त्री बद्र अब्देलातीसँग भेट गरी “दुवै पक्षलाई सहमतिमा ल्याउन अधिकतम दबाब” दिएको जानकारी दिएका छन्। उनले रफाह नाका क्षेत्रबाट दिएको भनाइमा गाजामा मानवीय संकट कल्पनाभन्दा बाहिर पुगेको भन्दै युद्धविराम तत्काल आवश्यक भएको बताए।
सोमबार साँझ, हमास समूहले प्रस्ताव बिना कुनै संशोधन वा सर्त स्वीकार गर्दै लिखित रूपमा जवाफ दिइसकेको छ। तर इजरायली प्रधानमन्त्री नेतन्याहुले भने जब सबै बन्धकहरू मुक्त हुनेछन्, हमासले हतियार त्याग्नेछ, गाजा पूर्ण रूपमा निरस्त्रीकरण हुनेछ र हमास वा प्यालेस्टिनी प्राधिकरणसँग सम्बन्ध नराख्ने नयाँ प्रशासनको व्यवस्थापनमा आउनेछ तब मात्र युद्ध समाप्त हुने बताएका छन् ।
हमासले भने प्यालेस्टिनी बन्दीहरूको मुक्तिसँगै युद्ध अन्त्य, इजरायली सेनाको पूर्ण फिर्ता र स्वतन्त्र प्यालेस्टिनी राष्ट्रको सुनिश्चितताको माग गर्दै आएको छ। उक्त राष्ट्रको घोषणा बिना आफूले हतियार नत्याग्ने हमासले स्पष्ट पारेको छ ।
इजरायली सेनाले सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा दक्षिण इजरायलमा गरिएका आक्रमणपछि गाजामा व्यापक सैन्य कारबाही थालेको हो। उक्त आक्रमणमा करिब १,२०० मानिसको मृत्यु र २५१ जना अपहरणमा परेका थिए।
गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कम्तीमा ६२,००४ जना गाजावासी मारिएका छन्। गाजाको अधिकांश जनसंख्या बारम्बार विस्थापित भइसकेको छ, ९० प्रतिशतभन्दा धेरै घरहरू ध्वस्त छन्, स्वास्थ्य, खानेपानी, सरसफाइ प्रणाली पूर्ण रूपमा ध्वस्त छन्, र खाद्य संकटका कारण “भोकमरीको सबैभन्दा खराब अवस्था” सुरु भइसकेको छ भन्ने चेतावनी अन्तर्राष्ट्रिय निकायहरूले दिएका छन्।
गाजा स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार, पछिल्ला २४ घण्टामा कुपोषणका कारण थप ५ जनाको मृत्यु भएको छ, जसमा २ बालबालिका पनि छन्। युद्ध सुरु भएदेखि हालसम्म कुपोषणका कारण ज्यान गुमाउनेको संख्या २६३ पुगेको छ।













