कर्मचारी सेवा सुविधामा विभेद अन्त्यको माग गर्दै विफु नेपालको चौथो बैठक सम्पन्न
काठमाडौं । बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल राष्ट्रिय समितिको चौथो पूर्ण बैठक भदौ २ र ३ गते ललितपुरमा सम्पन्न भएको छ।
बैठक अध्यक्ष धर्मराज मैनालीको अध्यक्षता र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा पेसागत महासंघ इञ्चार्ज रामेश्वर फुयालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
बैठकले कर्मचारीहरूले पाउने सेवा सुविधामा भइरहेको विभेदको अन्त्य गर्न जोडदार माग गरेको छ। साथै, श्रम अधिकार सुनिश्चित गर्न ऐन, नियमावली र संविधानमा भएका प्रावधानहरूको पूर्ण कार्यान्वयन हुनुपर्ने निष्कर्ष बैठकले निकालेको छ।
बैठकले सर्वोच्च अदालतको २०८१ फागुन २ गतेको फैसलापछि बैंक, बीमा तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूको रोजगारी असुरक्षित बन्ने खतरा उत्पन्न भएको जनाएको छ। व्यवस्थापनबाट ज्यादती हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै, संविधानको धारा ३४ र श्रम ऐन, २०७४ को भावना अनुरूप विभागीय कारबाहीको पुनरावलोकन गर्न मिल्ने व्यवस्था ऐनमा समावेश गरिनुपर्ने माग उठाइएको छ।
बैठकले अवकाश पाउँदा कर्मचारीले पाउने भुक्तानीमा लाग्ने करदर निजामती कर्मचारीसरह ५ प्रतिशतमा कायम राखिनुपर्ने माग गरेको छ। सरकारी स्वामित्वका संस्थाहरूमा नाफाको ५ प्रतिशत मात्र बोनस वितरण हुने र निजी संस्थाहरूमा १० प्रतिशतसम्म बोनस दिन मिल्ने प्रावधान रहेकोमा आपत्ति जनाउँदै संविधान, श्रम ऐन तथा अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्ड अनुसार सबैमा समान बोनस दर कायम हुनुपर्ने बैठकको निष्कर्ष छ।
बैठकले कल्याणकारी कोषमा दाखिलाको अनुपातमा देखिएको विभेदको पनि अन्त्य हुनुपर्ने धारणा राखेको छ। यस्तै, हालै सरकारले २०८२ जेठ १५ गते प्रस्तुत गरेको बजेटको बुँदा नं. ३९८ मार्फत स्वीकृत अवकाश कोषहरूमा अनिवार्य सहभागी हुनुपर्ने नीति ल्याएकोमा असन्तुष्टि जनाउँदै, त्यसलाई ऐच्छिक वा पूर्ण रूपमा खारेज गर्न माग गरिएको छ।
बैठकमा अर्थ मन्त्रालयद्वारा कर्मचारी सेवा विनियमावलीमा भइरहेका प्रतिगमनकारी संशोधनहरूले कर्मचारीको सेवा सुविधामा प्रत्यक्ष असर पारिरहेको, वृत्ति विकासमा अवरोध पुगेको र लोक सेवा आयोगमा हुने ढिलो प्रक्रियाका कारण कर्मचारीहरू अन्योलमा परेको समेत जनाइएको छ।
बैठकमा पेसागत महासंघ नेपाल राष्ट्रिय समिति अध्यक्ष पुण्यप्रसाद ढकाल, उपाध्यक्ष द्वय भोलानाथ पोखरेल र हरिकुमार श्रेष्ठ, महासचिव केदारप्रसाद देवकोटा, सचिव तथा विफु नेपालका इञ्चार्ज कमल पराजुली, सल्लाहकार बद्रिप्रसाद तिमिल्सिना, राजेश अर्याल लगायत विफु नेपालका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।














