विकल्प सिमित हुँदा पनि घटेन नाडा अटो शोमा दुई पांग्रे सवारीमा आकर्षण
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा मंगलबारदेखि राजधानीमा सुरु भएको १७ औँ संस्करणको ‘नाडा अटो शो २०२५’ ले दिन प्रतिदिन आगन्तुकको घुइचो बढाउँदै लगेको छ।
मेलाको चौथो दिनसम्म आइपुग्दा करिब १ लाख बढी अवलोकनकर्ताले मेला अवलोकन गरिसकेका छन्।
यस संस्करणमा विशेष गरी उड्ने कारले धेरैको ध्यान ताने पनि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनका स्टलहरूमा समेत उल्लेखनीय भीड देखिएको छ। सुरुवाती दिनमा सुनसान देखिएका दुई पाङ्ग्रे सवारीका स्टलहरू शुक्रबारदेखि भने दर्शक–प्रेक्षकले खचाखच भरिएका छन्।
यद्यपि यस पटक दुई पाङ्ग्रे सवारीमा विकल्प सीमित रहे पनि मोटरसाइकलप्रेमीहरूको आकर्षण भने घटेको छैन। यस वर्षको शोमा मात्र हिरो, यामाहा, जोनसेन र रोयल इन्फिल्ड गरी ४ वटा ब्रान्ड सहभागी बनेका छन्।
त्यसमध्ये यामाहाले तीन नयाँ रङमा बाइक प्रस्तुत गर्दै दर्शकहरूको उत्साह बढाएको छ। अन्य ब्रान्डको तुलनामा यामाहाको स्टलमा बढी भीड देखिएको छ। त्यसैगरी, चिनियाँ ब्रान्ड जोनसेनले पनि ग्राहकको ध्यान खिच्न सफल भएको छ। यसदिन हिराे र रायल इन्फिल्डका स्टलहरूमा पनि त्यतिकै आकर्षण देख्न सकिन्छ ।
उपलब्ध ब्रान्ड र मोडलहरू सीमित भए पनि मोटरसाइकलप्रेमीको आकर्षण र उत्साहले यसपटकको नाडा अटो शोमा दुई पाङ्ग्रे सवारीलाई केन्द्रविन्दुमा पुर्याएको छ।
















