झन् सस्तियो कर्जा, झन् कम भयो ब्याज
काठमाडौं । बैंकहरुको ब्याजदर घट्ने क्रम जारी छ । बैंक तथा वित्तीय क्षेत्रका विभिन्न ब्याजदरहरु व्यापक रुपमा घटेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको गत आर्थिक वर्ष २०८१–८२ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी बिलको भारित औस्त ब्याजदर २.९५ प्रतिशत झरेको छ । जबकि, अघिल्लो वर्षको अन्त्यमा यस्तो ब्याजदर ३ प्रतिशत रहेको थियो । २०८० असारमा भने झन् ६.३५ प्रतिशत रहेको थियो ।
गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंकको कारोबारको भारित औसत ब्याजदर पनि २.९६ प्रतिशत कायम भएको छ । अघिल्लो असारमा यस्तो ब्याजदर २.९९ प्रतिशत रहेको थियो । त्यसभन्दा अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो ब्याजदर ३.१४ प्रतिशत रहेको थियो ।
यता बैंक तथा वित्तीय संस्थाहरुको औसत आधार दर समेत घटेको छ । हाल वाणिज्य बैंकहरुको आधार दर ६.०२ प्रतिशतमा झरेको छ। जबकि, अघिल्लो वर्ष यस्तो दर ८ प्रतिशत रहेको थियो । यता, विकास बैंकहरुको आधार दर ९.७१ प्रतिशतबाट घटेर ८.०३ प्रतिशत र वित्त कम्पनीहरुको ११.२१ प्रतिशतबाट ८.९७ प्रतिशत झरेको देखिन्छ ।
एक वर्षमा निक्षेपको ब्याजदर पनि ठुलो मात्रामा घटेको छ । अघिल्लो असार मसान्तसम्म वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर ५.७७ प्रतिशत रहेको थियो । तर, गत असार मसान्तसम्म आइपुग्दा भने यो घटेर ४.१९ प्रतिशत कायम भएको छ ।
यता, विकास बैंकको निक्षेपको ब्याजदर पनि ६.६३ प्रतिशत र वित्त कम्पनीको ७.९३ प्रतिशतबाट घटेर क्रमश: ४.८८ प्रतिशत र ६.०१ प्रतिशत कायम भएको छ ।
यता, कर्जाको ब्याजदरमा पनि व्यापक बदलाव देखिन्छ । एकै वर्ष कर्जाको ब्याजदर २.०८ प्रतिशत बिन्दु घटेको छ । अघिल्लो वर्षको असारमा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ९.९३ प्रतिशत रहेको थियो । तर, गत वर्षको सोही अवधिमा आइपुग्दा भने घटेर ७.८५ प्रतिशत कायम भएको छ ।
यस्तै, विकास बैंकको कर्जाको ब्याजदर पनि ११.३४ प्रतिशतबाट घटेर ८.९५ प्रतिशत र वित्त कम्पनीको १२.५५ प्रतिशतबाट घटेर १०.२२ प्रतिशत कायम भएको छ ।

केन्द्रीय बैंकको मौद्रिक नीति, बजारमा अधिक तरलता र आर्थिक स्थिरता लगायतका कारण ब्याजदर घट्दो क्रममा देखिन्छ ।
ब्याजदर घट्दा अर्थतन्त्रमा गतिविधि चलायमान बनाउने अपेक्षा गरिएको छ ।तर, अहिले न्यून स्तरमा ब्याजदर आइपुग्दा पनि बजारमा कर्जाको माग बढ्न सकेको छैन ।
ब्याजदर घट्दा तुलनात्मक रुपमा निक्षेपकर्तालाई असर पारे पनि केही क्षेत्रमा भने फाइदा हुने गर्दछ । विशेषगरि कर्जा सजिलो र सस्तो हुन्छ । ब्याजदर घटेपछि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने व्यक्तिहरू र व्यवसायीहरूलाई कम ब्याज तिर्नुपछ । सस्तो कर्जाले व्यापार विस्तार, घर निर्माण, सवारी किन्नेजस्ता व्यक्तिगत निर्णयलाई पनि सहज बनाउँछ ।
यस्तै, कम ब्याजदरले लगानी र व्यापार बढ्ने सम्भावना पनि उत्तिकै हुनछ । यसले व्यवसायीलाई उद्योग, उत्पादन, पूर्वाधार वा नयाँ सेवा विस्तार गर्न सजिलो बनाउँछ । आर्थिक वृत्तचित्रमा लगानी चक्र सक्रिय भई रोजगारी सिर्जना र राजस्व वृद्धिमा टेवा पुग्ने अपेक्षा समेत गर्न सकिनछ ।
अर्कोतर्फ उपभोक्ताको भरण पोषणमा सहजता ल्याउने जानकारहरु बताउँछन् । घरायसी खर्चका लागि पनि ब्याजदर घट्दा ऋण लिन सजिलो हुने भएकाले जनताको उपभोग क्षमता बढ्छ । गाडी, घर, शैक्षिक कर्जा वा अन्य उपभोगमा वृद्धि हुने सम्भावना हुन्छ, जसले आन्तरिक खपत बढाउँने बताइन्छ ।
यद्यपि, ब्याजदर घट्दा बैंकमा पैसा जम्मा गरेर बचत गर्ने व्यक्तिहरूलाई प्राप्त ब्याज कम हुन्छ । वृद्धवृद्धा, स्थायी आम्दानीमा निर्भर व्यक्तिहरू र सेयर बजारमा सहभागी नभएकाहरूलाई भने यसले केही निराशा बनाउने गर्छ ।













