८ श्रावण २०८३, शुक्रबार

झन् झन् बढ्दै सेयर बजारको आकर्षण : बैंकिङ क्षेत्रको बलियो दबदबा, लगानीकर्ताको नजर कहाँ ?



काठमाडौं । गत वर्ष नेपाली सेयर बजारले उल्लेख्यनीय फड्को मारेको देखिन्छ । गत आर्थिक वर्ष २०८१–८२ मा नेप्से सूचकाङ्कदेखि बजार पुँजीकरणसम्मका प्रमुख सूचकहरूमा उत्साहजनक वृद्धि देखिएको छ ।

नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको गत आवको साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
आँकडा अनुसार अघिल्लो असार मसान्तमा नेप्से सूचकाङ्क २२४०.४१ विन्दुमा रहेको थियो । तर, गत असार मसान्तसम्म आइपुग्दा २७९४.७९ विन्दुमा पुगेको छ ।

राष्ट्र बैंकका अनुसार धितोपत्र बजार पुँजीकरण अघिल्लो वर्षको ३५ खर्ब ५३ अर्ब ६८ करोडबाट बढेर ४६ खर्ब ५६ अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ ।

बजार पुँजीकरणले कुल गार्हस्थ उत्पादन (जिडिपी) को ७६.२५ प्रतिशत ओगटेको छ । जुन अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत अंक बढी हो । अघिल्लो वर्ष ६२.२५ प्रतिशत रहेको थियो ।

बैंकिङ क्षेत्रको बलियो दबदबा, कुन क्षेत्रको कति हिस्सा ?

धितोपत्र बजारमा बैंकिङ तथा वित्तीय क्षेत्रको प्रभावशाली वर्चस्व देखिन्छ । सेयर बजारमा लचकता, नियमित लाभांश वितरण र सुरक्षित लगानीको रूपमा बैंकहरू लोकप्रिय छन् ।

नेप्सेमा सूचीकृत कम्पनीहरूको २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूलाई वर्गीकरण गर्दा सबैभन्दा ठूलो हिस्सा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको नै देखिएको छ । हाल बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी हिस्सा ५४.१ प्रतिशत छ । ‘यस क्षेत्रका १३२ कम्पनीहरु सूचीकृत छन् । गत वर्ष बैंक तथा वित्तीय क्षेत्रको कुल ४ खर्ब ८७ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबरको ५९ करोड ४२ लाख ७६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

त्यसपछिको हिस्सा जलविद्युत कम्पनीको रहेको छ । गत असार मसान्तसम्म ९१ कम्पनी जलविद्युत कम्पनीहरु नेप्सेमा सूचीकृत छन् । हाइड्रोपावर क्षेत्रको योगदान १५.३ प्रतिशत छ । कारोबार रकमको आधारमा भने जलविद्युत क्षेत्रमा लगानीकर्ताको बढी आकर्षक देखिन्छ । गत वर्ष कुल ८ खर्ब २२ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर यस क्षेत्रको कारोबार भएको छ ।

राष्ट्र बैंकका अनुसार हाइड्रोपावर क्षेत्रको कुल २ अर्ब ६करोड ४६ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको हो ।सरकारी प्राथमिकता, लगानी विस्तार र उत्पादन क्षमतामा वृद्धिको लगायतका कारण हाइड्रोपावर क्षेत्रलाई पनि लगानीकर्ताले निकै प्राथमिकता दिन थालेका छन् ।

यस्तै, लगानी समूहका ७ कम्पनी छन्, जसको योगदान ७.७ प्रतिशत छ । यता, उत्पादन तथा प्रशोधन उद्योग समूहका २३ कम्पनी सूचीकृत छन् । सेयर बजारमा यसको हिस्सा ५.४ प्रतिशत छ । गत वर्ष यस क्षेत्रका १ खर्ब ६३ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ

राष्ट्र बैंकका अनुसार व्यापार समूहका ४ वटा, होटल समूहका ७ वटा कम्पनीहरु सूचीकृत छन् । यीहरुको हिस्सा भने क्रमश: ५ प्रतिशत र २.७ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार यी बाहेकका अन्य समूहको योगदान ९.८ प्रतिशत छ ।


प्रतिक्रिया दिनुहोस्