आज हरितालिका तीजः धार्मिक विश्वास र पौराणिक कथासँग जोडिएको विशेष पर्व - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

आज हरितालिका तीजः धार्मिक विश्वास र पौराणिक कथासँग जोडिएको विशेष पर्व



काठमाडौं । आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज, यसदिन नेपाली हिन्दु समुदायका महिलाहरूले देवादिदेव महादेवको पूजा आराधना गरी धूमधामका साथ तीज पर्व मनाउँदैछन्। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहेको छ।

आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको भिड लागेको छ भने महिलाहरू व्रत बसेर शिवजीको पूजाआजा र नाचगान गर्दै तीज मनाइरहेका छन्।
सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।

वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन्। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए।
साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन्। यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मान्यता छ।

हरितालिका तीज र १०८ वर्षको तपस्या
वास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान् शिव पाउँ भनी गरेको १०८ वर्षको तपस्याको याद दिलाउने गर्छ।
आधुनिक कालमा बर–बधूले त्यस्तो तपस्या गर्नुपर्ने अवस्था त छैन, तथापि सामाजिक अन्धविश्वास, आर्थिक असमानता र भौतिकवादी सोचले प्रेम उत्पन्न समस्या अझै विद्यमान छन् ।

तीजको साँझ १०८ सुते बत्ती दियो प्रज्वलन गरिन्छ। ती दीपशिखाहरू रातभर नै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्छ। पति–पत्नी, भावी पति–पत्नी अनि सम्पूर्ण परिवारबीचको माया, सद्भाव बढाउन तीज सफल होस् भन्ने कामना गरिन्छ।

तीजको नाम कसरी रहन गयो ?
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको हो। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ।

तथापी हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ। परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्या गरिन्।

यद्यपि तपको विधि र तालिका नमिलेर उनको तपस्या सफल हुन सकेन। जगतको पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी पार्वतीले पहिले भगवान् विष्णुको प्रार्थना गरिन्। विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलिबिस्तार लगाएको पौराणिक कथन छ।

हरिले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिएको बताइन्छ। हरि र तालिका अर्थात् यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजा आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकाले यस दिन हरि तालिका रहन गएको हो।

सत्ययुगमा आजैको दिन नीराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। तर यसको अर्थ सबै नारी नीराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् बताउँछन्।

पतिको लागि व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराउँ कोखका कामना गर्दछन्। हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ। आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ।

आज बिहानैदेखि शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड सुरु भइसकेको छ भने पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ।

आजको दिन अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्ने गर्छन्।

यो पर्वले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलाई झनै शक्तिका साथ अघि बढाउन सहयोग पु¥याओस् भन्ने विश्वास पनि गरिएको छ।


प्रतिक्रिया दिनुहोस्