आईफोन १७ सिरिजकाे तयारी तिब्र, ट्रम्पको कर नीतिबाट प्रभावित एप्पलले कस्तो रणनीति अपनाउँला ?
काठमाडाैं । एप्पलको बहुप्रतिक्षित आईफोन १७ सिरिज आगामी सेप्टेम्बरमा सार्वजनिक हुने भएको छ ।
एप्पलले आगामी सेप्टेम्बर ९ मा विशेष कार्यक्रम आयोजना गर्ने घोषणा गरेसँगै उक्त कार्यक्रममा नयाँ आईफोन १७ तथा एप्पल वाचका नयाँ संस्करणहरू सार्वजनिक हुने आँकलन हुन थालेको हो ।
किनभने एप्पलले २०१२ यता हरेक सेप्टेम्बरमा नयाँ आईफोन सार्वजनिक गर्दै आएको छ। गत वर्ष २०२४ मा सेप्टेम्बर ९ मा एप्पलले आईफोन १६ सिरिज लन्च गरेको थियो भने अघिल्लाे वर्ष २०२३ सेप्टेम्बर १२ मा आईफोन १५ सिरिज सार्वजनिक गरिएको थियो ।
यसपटक पनि उक्त परम्परा दोहोरिने देखिएको छ। क्यालिफोर्नियास्थित एप्पल पार्कमा आयोजना हुने यो कार्यक्रम कम्पनीका लागि वर्षकै सबैभन्दा महत्वपूर्ण क्षण मानिन्छ।
कस्तो होला नयाँ आईफोन १७ सिरिज ?
आईफोन १७ सिरिजका मोडलहरुमा ए१९ चिप र प्रो भर्सन भने ए १९ प्रो चिपसेटसहित आउने चर्चा छ ।
आईफोन १७ सिरिज झनै पातलो तथा आकर्षक डिजाइनमा आईफोन प्रस्तुत गर्न सक्ने अनुमान गरिएको छ। यो नयाँ मोडेललाई धेरैले म्याकबुक एयर जस्तै स्लिम आईफोन भन्दै अनुमान गरिरहेका छन्। यद्यपि, यस्तो डिजाइनले ब्याट्री क्षमतामा केही सम्झौता गरिन सक्ने पनि बताइएको छ।
आईफोन १७ र प्रोमा ६.३ इन्च, आईफोन १७ एयर ६.५ इन्च र आईफोन १७ प्रो म्याक्स ६.९ इन्च डिस्प्ले रहने बताइएको छ । आईफोन १७ का सबै मोडलको मूल्य आईफोन १६ सिरिजको तुलनामा ५० अमेरिकी डलर (७ हजार रुपैयाँ) महँगो हुने अनुमान छ ।
साथै, कम्पनीले सधैंझैँ नयाँ प्रोसेसर, उन्नत क्यामेरा र लामो ब्याट्री जीवन जस्ता सुधारहरू ल्याउने अपेक्षा गरिएको छ। प्रो मोडेलहरूमा अझ ठूलो स्क्रिन, टाइटानियम संरचना तथा अझै शक्तिशाली प्रविधिहरू समावेश हुने सम्भावना छ।
विश्वव्यापी व्यापार नीति र उत्पादनको रणनीति परिवर्तन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको उच्च कर नीतिले एप्पलको नयाँ आईफोन १७ मा प्रत्यक्ष र अप्रत्यक्ष दुबै प्रभाव पार्ने देखिन्छ।
चीनबाट आयात हुने सामग्रीमा भारी ट्यारिफ लगाइएपछि एप्पलले उत्पादन स्थल भारततर्फ सार्न सारेकाे छ। यद्यपि भारतमा श्रम लागत कम भए पनि नयाँ आपूर्ति श्रृंखला निर्माण, स्थानान्तरण लागत तथा प्रविधि स्थापनाजस्ता कारणले उत्पादन लागत बढ्न पुगेको छ।
यसले आईफोन १७ को मूल्य अघिल्लो संस्करणको तुलनामा झण्डै ७ हजार रुपैयाँले बढ्ने अनुमान गरिएको छ। यद्यपि हालसम्म स्मार्टफोनहरूलाई भारतमा लाग्ने दोब्बर ट्यारिफबाट छुट दिइएकोले तत्काल मूल्यमा ठूलो असर नपरे पनि, दीर्घकालमा यो छुट हटिएमा असर गहिरिन सक्छ।
एप्पलले आगामी वर्षहरूमा अमेरिकी बजारका लागि आफ्नै देशभित्र चिप्स उत्पादन गर्न करिब ६०० अर्ब डलर लगानी गर्ने घोषणा गरिसकेको छ, जसले भविष्यमा मूल्य नियन्त्रणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यसैले, ट्रम्पको कर नीतिले एप्पलको उत्पादन रणनीति मात्र होइन, उपभोक्तामाझको मूल्य निर्धारणमा पनि उल्लेखनीय परिवर्तन ल्याउने संकेत देखिएको छ।
यता आजभोलि प्रयोगकर्ताहरू प्रायः आवश्यकता परे मात्र नयाँ फोन किन्ने प्रवृत्तिमा छन्। यस्तो अवस्थामा एप्पलले आफ्नो नयाँ आईफोनका माध्यमबाट प्रयोगकर्ताको ध्यान कसरी तान्नेछ भन्नेमा विश्लेषकहरू गम्भीर छन्।
विशेषगरी आईफोन मिनीको असफलता र आईफोन १६ प्लसको न्यून विक्रीले कम्पनीलाई अझ सतर्क बनाएको देखिन्छ।













