८ श्रावण २०८३, शुक्रबार

सेयरमै लगानी गर्न बैंकबाट डेढ खर्ब ऋण, बजारमा ठुला लगानीकर्ता फर्किएका हुन् ?



काठमाडौं । नेपालको पूँजी बजारमा लगानीकर्ताको सक्रियता र आत्मविश्वास झनै बढ्दो छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेयर धितो कर्जामा देखिएको तीव्र वृद्धिले यस्तो पुष्टि गर्छ ।

‘मार्जिन लोन’ अर्थात् सेयर धितो कर्जामा निकै आकर्षण देखिएको छ । लगानीकर्ताको आशा, बजारप्रतिको आस्था र नियामक निकायको लचिलो नीतिले गर्दा यस्तो कर्जामा उल्लेखनीय वृद्धि देखिएको छ ।

एकैवर्ष बैंक तथा वित्तीय संस्थाहरुले डेढ खर्ब बढी सेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुले कुल १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा भने ५६.१७ प्रतिशत धेरै हो । अघिल्लो वर्षमा यस्तो कर्जा प्रवाह ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।

नियामक निकाय नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति मार्फत सेयर धितो कर्जासम्बन्धी लिएको लचिलो नीतिका कारण पछिल्लो समय यस्तो कर्जा बढ्न थालेको हो । विशेषगरि सेयर बजारमा ठुला लगानीकर्ता सक्रिय भएको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार १ करोड माथिको सेयर धितो कर्जा उल्लेख्य बढेको छ । एकै वर्ष यस्तो सीमाको सेयर कर्जा ७६.८७ प्रतिशत वृद्धि भई ९८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ प्रवाह भएको छ । अघिल्लो वर्ष लगानीकर्ताले १ करोड माथिको सीमाको सेयर कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ लगेका थिए । लचिलो नीतिले सेयर बजारमा ठूला लगानीकर्ताको पुन: सक्रियता देखिएको छ ।

यस्तै, ५० लाखदेखि १ करोडसम्मको सीमा प्रवाह हुने सेयर धितो कर्जा पनि २८.९८ प्रतिशत वृद्धि भएको छ । गत वर्ष यस्तो सीमा १६ अर्ब २ करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । जबकि, अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थाले यस्तो सीमामा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यता, २५ लाखदेखि ५० लाखसम्मको सेयर धितो कर्जा प्रवाह पनि २१.७९ प्रतिशत र २५ लाखसम्मको कर्जा ११.८४ प्रतिशत वृद्धि भएको छ । गत वर्ष आइपपुग्दा यी दुई सीमाको सेयर धितो कर्जा क्रमश: १७ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँ प्रवाह गरेका छन् ।

वाणिज्य बैंकले मात्रै दिए १ खर्ब १६ अर्ब बढी सेयर कर्जा, नबिल, ग्लोबल र कुमारीको उच्च

गत वर्ष वाणिज्य बैंकहरुले मात्रै मार्जिन प्रकृति सेयर कर्जा १ खर्ब १६ अर्ब ८० करोड ९४ लाख रुपैयाँ दिएका छन् । बैंकहरुले अघिल्लो वर्षको तुलनामा यस्तो कर्जा ६०.०६ प्रतिशत बढाएका हुन् । अघिल्लो वर्षमा बैंकहरुले ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका थिए ।

अधिकांश बैंकहरुले सेयर कर्जा बढाएका छन् । एनआइसी एशिया बैंकको मात्रै यस्तो कर्जा घटेको देखिन्छ ।

गत वर्ष लगानीकर्ताले नबिल बैंकबाट सबैभन्दा धेरै सेयर कर्जा लिएका छन् । बैंकले एकै वर्ष १६ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो वर्षको तुलनामा४६.६९ प्रतिशत बढी हो ।

दोस्रो सूचीमा रहेको ग्लोबल आइएमई बैंकले पनि यस्तो कर्जा प्रवाह ६३.७४ प्रतिशत बढाएर १२ अर्ब ३० करोड ९३ लाख रुपैयाँ पुर्‍याएको छ ।

यता, कुमारी बैंकले पनि गत वर्ष १० अर्ब ४३ करोड ३२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १३८.४० प्रतिशत धेरै हो ।

यस्तै, गत वर्ष सिद्धार्थ बैंकले ९ अर्ब २८ करोड ७ लाख, प्राइमले ८ अर्ब २८ करोड १५ लाख, लक्ष्मी सनराइजले ८ अर्ब २५ करोड ४५ लाख, नेपाल बैंकले ७ अर्ब ८६ करोड, सिटिजन्सले ७ अर्ब २ करोड, राष्ट्रिय वाणिज्यले ६ अर्ब १५ करोड, प्रभूले ५ अर्ब ३४ करोड ४६ लाख, रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।

यता, कृषि विकासले ४ अर्ब ६५ करोड, एभरेष्टले ३ अर्ब ४४ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ३६ करोड, सानिमाले ३ अर्ब ३१ करोड, हिमालयनले २ अर्ब ७१ करोड, माछापुच्छ्रेले २ अर्ब ५३ करोड, एनएमबिले २ अर्ब ३९ करोड, एनआइसी एशियाले २ अर्ब ५ करोड र नेपाल एसबिआईले ६१ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्