जलविद्युतमा लगानी गर्नुस्, सरकार उद्योगमैत्री नीतिमै केन्द्रित छः मन्त्री भण्डारी
काठमाडौं । नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा विद्युतीय क्षेत्रमा अझ बढी लगानीको आवश्यकता रहेको भन्दै विदेशी कम्पनीहरूलाई लगानी गर्न आह्वान गरेका छन्।
काठमाडौंमा आयोजित इलेक्ट्रिक पावर एग्जिबिसनको उद्घाटन समारोहमा मन्त्री भण्डारीले नेपालमा कार्यरत स्वदेशी तथा विदेशी कम्पनीहरूको प्रयासप्रति सकारात्मक धारणा व्यक्त गर्दै सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे।
सरकारले उद्योगमैत्री नीति अवलम्बन गर्दै लगानी सहजीकरण र आवश्यक सहुलियत दिइरहेको भन्दै उनले वर्तमान बजार प्रतिस्पर्धाको युगमा नेपालका उत्पादक कम्पनीहरू पनि गुणस्तरीय उत्पादनमार्फत अग्रसर भइरहेको जानकारी दिए।
जलविद्युतको अपार सम्भावना रहेको नेपालले छिमेकी मुलुकहरूमा विद्युत निर्यात गर्नसक्ने क्षमतामा पुगिसकेको उनले बताए। उनले भने ‘नेपालमा उत्पादन पनि भइरहेको छ। हामी छिमेकी मुलुकमा निर्यात गर्न सक्छौँ।’
मन्त्री भण्डारीले विद्युत क्षेत्रमा प्रविधिको प्रयोग, गुणस्तरीय उत्पादन र निर्यातको सम्भावनालाई आत्मसात गर्दै नेपालले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति अझ बलियो बनाउने विश्वास समेत व्यक्त गरे।













