२४ भदौ २०८३, बुधबार

ओमोडा एण्ड जेकोको नयाँ शोरूम अब पोखरामा, जेको जे ५ सार्वजनिक



काठमाडौं । पोखरामा ओमोडा एण्ड जेकोको आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले नयाँ शोरूमको औपचारिक उद्घाटन गरेको छ। उक्त अवसरमा गण्डकी प्रदेशमा नयाँ जेको जे५ गाडी पनि सार्वजनिक गरिएको छ।

पोखराको शिवचोक–१० मा सञ्चालनमा ल्याइएको नयाँ शोरूम थ्री एस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित पूर्ण रूपमा अद्यावधिक गरिएको कम्पनीले जनाएको छ। झण्डै २०,००० वर्गफुट क्षेत्रफलमा फैलिएको शोरूमले ग्राहकलाई एउटै स्थानमै सबै सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ।

अत्याधुनिक प्रविधिबाट सुसज्जित सर्भिस सेन्टरले बिक्रीपछि प्रदान गरिने सेवाको गुणस्तरलाई अझ मजबुत बनाउने जनाइएको छ। सर्भिस सेन्टरमा काम गर्ने प्राविधिकहरुलाई अनुभवी प्राविधिक र प्रतिनिधिहरूद्वारा प्रशिक्षण दिइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

शोरूम उद्घाटनसँगै नयाँ जेको जे५ पोखरामा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नाइमा एक्स्पोमा पहिलोपटक प्रदर्शित यो गाडी लक्जरी एसयुभी वर्गमा शक्तिशाली विशेषता र आकर्षक डिजाइनका कारण छुट्टै पहिचान बनाउने लक्ष्य राख्दछ। जेको जे५ का प्रमुख सुविधाहरूमा १८५ मिलिमिटर ग्राउन्ड क्लेरेन्स, प्यानोरामिक सनरूफ, १८ इन्चको अलोय ह्वीलसहितको स्पेयर टायर, ४६१ किलोमिटर ड्राइभिङ रेन्ज, र ४८० लिटर बुट स्पेस रहेका छन्।

उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा र प्रदेश सभा सदस्य प्रकाश बरालको उपस्थिति थियो। विशेष अतिथिका रूपमा एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, निर्देशक गौरव शारडा सहभागी थिए।

इलाइट मोटर्स प्रालिका प्रबन्ध निर्देशक गोपाल बरालले पोखरामा नयाँ शोरूम र प्रिमियम उत्पादनमार्फत ग्राहकलाई अझ उन्नत अनुभव प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै उनले जेइको जे ५ अत्याधुनिक प्रविधि र नेपालमा दिगो गतिशीलता प्रोत्साहन गर्ने मिसनको प्रतीक भएकाे बताए ।