प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेट, नेपालकाे ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह
काठमाडौं । चीनको थियानजिनमा शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी भइरहेका प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच दुईपक्षीय भेटवार्ता सम्पन्न भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार, भेटवार्तामा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध तथा आपसी सहकार्यका विविध पक्षमा गहन छलफल भएको छ।
भियतनामी प्रधानमन्त्री चिङले हालै नेपाल भ्रमण गरेका उपराष्ट्रपति भो थि आन सुआनको भ्रमण स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई भियतनाम भ्रमणको निम्तो दिएका छन्।
जवाफमा प्रधानमन्त्री ओलीले भियतनामको स्वतन्त्रता आन्दोलनमा नेपालको ऐक्यबद्धता प्रकट गर्दै, छोटो समयमा हासिल गरेको त्यस देशको प्रगति सबैका लागि प्रेरणादायी रहेको टिप्पणी गरे।
प्रधानमन्त्री ओलीले नेपाल विकासशील मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेको जानकारी दिँदै ऊर्जा क्षेत्रमा लगानीका लागि भियतनामी पक्षलाई आग्रह गरे। साथै, उनले प्रधानमन्त्री चिङलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएका छन्।
भेटमा दुवै पक्षबाट मन्त्रीहरू, सांसदहरू र उच्चपदस्थ कूटनीतिज्ञहरूको सहभागिता रहेको थियो।















