प्रधानमन्त्री ओली स्वदेश फिर्ता, बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट उच्च चिनियाँ अधिकारीले गरे विदाइ
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान गरेका छन्।
उनलाई आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका राजदूत र चीनका लागि नेपाली राजदूतलगायतले बिदाइ गरेका हुन् ।
साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ गते चीनको तियान्जिनतर्फ प्रस्थान गरेका थिए ।
उनी आज बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक परेड कार्यक्रममा समेत सहभागी भएका थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनलगायत विश्वका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।















