अब कुन सामाजिक सञ्जाल चल्ने–कुन नचल्ने ?
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले मन्त्रालयमा सूचिकृत भएका बाहेक सम्पुर्ण समाजिक सञ्जाल प्ल्याटफर्महरु क्रमश निस्क्रीय गर्ने प्रक्रिया सुरु गर्ने भएको छ ।
यसका लागि मन्त्रालयलले दुरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।
बिहिबार मन्त्रालयमा बसेको मन्त्री स्तरीय बैठकले गरेको निर्णय अनुसार नेपालमा सुचिकरण हुन नआएका सामाजिक सञ्जाल प्लयाटफर्महरुलाई तत्काल निस्क्रीय बनाउने निर्णय गरेको हो । सर्वोच्च अदालतको आदेश र मन्त्रीपरिषद्को भदौ ९ गते निर्णयको कार्यान्व्यन गर्न मन्त्रालय यस्तो प्रक्रिया थालेको हो ।
सञ्चार मन्त्री गुरुङका अनुसार सरकारकाले पटक पटक सुचना जारी गरि जानकारी गराउदा पनि प्ल्याट फर्महरुले आँटेरी गरेको हुँदा यस्तो बाध्यात्मक अवस्था आएको हो । ‘हाम्रो उदेश्य सधैलाई बन्द गर्न खोजिएको होइन । उनीहरु सम्पर्कमा आउना साथ पुन सुचारु हुनेछ’, उनले भने,‘सुचिकृत भइसकेका र प्रक्रियामा रहेकालाई बन्द गरिएको छैन ।’
मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठकुरले हाल सम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचिकृत भइसकेको र टेलिग्राम र ग्लोबल डाइरी सुचिकृत हुने प्रक्रियामा रहेको जानकारी दिए ।
‘मन्त्रालयले गरेको एक अध्ययन अनुसार नेपालमा हाल २५ वटा जति सामाजिक सञ्जाल प्ल्याट फर्महरु बढी सक्रिय रुपमा प्रयोग भएका छन्’ उनले भने,‘तर, कति वटा बन्द हुन्छ यकिन छैन, हजारौँ प्ल्याटफर्म बन्द हुन सक्छन् ।’
सरकारको निर्णयसँगै देशभर कुन सञ्जाल चल्ने र कुन नचल्ने भन्नेबारे सर्वसाधारणमा चासो बढेको छ । सञ्चार मन्त्रालयका अनुसार हालसम्म पाँच वटा सामाजिक सञ्जाल टिकटक, भाइबर, निम्बज, वीटक, ओपोलाइभ मात्र नेपालमा कानुनी रूपमा सञ्चालनको अनुमति पाएका छन्। यी प्लेटफर्महरूले आवश्यक प्रक्रिया पुरा गरी मन्त्रालयमा सूचीकरण गरिसकेकाले अब पनि सामान्य रूपमा चल्नेछन् ।
तर फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर, स्न्यापच्याट, लिंक्डइन लगायत दर्जनौं लोकप्रिय सामाजिक सञ्जालहरूले भने बन्द हुनेछन् । सूचीकरण नगरेको भन्दै ती सबैलाई बन्द गर्ने प्रक्रिया सुरु भएको मन्त्रालयको भनाइ छ ।
फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्डइन, डिस्कर्ड, स्न्यापच्याट, सिग्नल, पिन्ट्रेस्ट, थ्रेड, वीच्याट, क्लब हाउस, हाम्रो पात्रो लगायत अन्य बन्द हुनेछन् ।
सूचीकरण नगरेका यी प्लेटफर्महरू नेपालमै पूर्ण रूपमा अवरुद्ध हुने छ । तर सूचीकरणको प्रक्रिया पुरा गरेमा पुन: सञ्चालनमा आउनेछन् ।













