७ श्रावण २०८३, बिहिबार

तेल व्यापारमा ‘समृद्धि’को छलाङ : एकै वर्ष ५ अर्ब नाघ्यो कारोबार, ३८ हजार मेट्रिक टन उत्पादन



काठमाडौं । नेपालको तेल उद्योगमा छोटो समयमै छुट्टै पहिचान बनाएको ‘समृद्धि’ ब्रान्डले सिद्धिविनायक आयल्स प्रा.लिलाई उल्लेखनीय व्यापारिक सफलता दिलाएको छ ।

स्थापाना भएको तीन वर्षमा ८ अर्ब ४० करोड ८० लाख रुपैयाँ बढीको कारोबार गरेको छ । पछिल्लो एकै वर्षको कारोबार भने ५ अर्ब नाघेको छ ।

कम्पनीको व्यापार एकै वर्ष साढे ३ गुणा वृद्धि भएको छ । गत वर्ष अर्थात् आर्थिक वर्ष २०२४–२५ मा कम्पनीले ५ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३.५७ गुणा बढी हो । जबकि, गत वर्षमा कम्पनीले १ अर्ब ४२ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । त्यो भन्दा अघिल्लो वर्ष सन् २०२३ मा पनि कम्पनीले १ अर्ब ८८ करोड ६ लाख रुपैयाँ बराबरको व्यापार गरेको देखिन्छ ।

यो कम्पनीले सन् २०२१ अगस्ट २ मा स्थापना भएको हो । नवलपरासी पश्चिमको रामग्राममा प्रशोधन प्लान्ट स्थापना गरेर सञ्चालनमा आएको सिद्धिविनायकले खाना पकाउने तेल (सोयाबिन, पाम ओलेइन र सनफ्लावर) प्रशोधन तथा शुद्धीकरण गर्दै आएको छ । कम्पनीको हालको कुल वार्षिक उत्पादन क्षमता ३८ हजार ६४० मेट्रिक टन रहेको छ ।

प्रशोधित तेलहरू ‘समृद्धि’ ब्रान्डको नाममा देशभर वितरण हुँदै आएका छन् । छोटो अवधिमा नै यो ब्रान्डले ग्राहकको विश्वास जित्न सफल भएको व्याया छलाङको आँकडाले देखाउँछ गुणस्तर, प्याकेजिङ र बजार सञ्जालका कारण व्यापारमा उल्लेख्य सुधार आएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार भारत सरकारले सन् २०२४ मा कच्चा र प्रशोधित तेलमा भन्सार दर बढाएसँगै नेपालबाट निर्यातमा वृद्धि भएको हो । त्यसको प्रत्यक्ष असर स्वरूप सिद्धिविनायकको व्यापार र लाभांशमा सकारात्मक उछाल आएको दावी छ ।

पछिल्ला वर्षहरूमा घाटा भोग्दै आएको कम्पनीले चालु आर्थिक वर्षमा भने ५ प्रतिशत नाफा कमाउन सफल भएको छ । सन् २०२४ मा कम्पनीले प्रति मेट्रिक टन १ लाख ५७ हजार २ सय ८८ रुपैयाँमा तेल बिक्री गरेको थियो । यो सन् २०२५ मा बढेर २ लाख ७ हजार ४ सय २३ रुपैयाँ पुगेको छ ।

विस्तारशील व्यापारिक योजना र बजार मागलाई मध्यनजर गर्दै कम्पनीले ३ अर्ब ९ करोड ६० लाख रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जा ३७ करोड ६३ लाख र अल्पकालीन कर्जा २ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

सिद्धिविनायक आयल्स प्रा.लि. गोयन्का ग्रुपअन्तर्गत सञ्चालित कम्पनी हो । यसको अध्यक्ष गोपाल गोयन्का छन् । उनी साढे तीन दशक बढी निर्माण, वित्त र व्यापार क्षेत्रमा आवद्ध छन् । उनको रणनीतिक नेतृत्वमा कम्पनीले छोटो समयमा घरेलु बजारमा सशक्त उपस्थिति बनाएको छ । कम्पनीले खाद्य सुरक्षासँगै रोजगारी, कर राजस्व र निर्यात प्रवद्र्धनमा पनि सशक्त भूमिका खेलेको छ ।


प्रतिक्रिया दिनुहोस्