७ श्रावण २०८३, बिहिबार

वीरगञ्जमा ‘सोल्टी वेस्टेण्ड रिसोर्ट’ मार्फत उपस्थिति विस्तार गर्दै सोल्टी होटल



काठमाडौं । नेपालको अग्रणी लक्जरी आतिथ्य ब्रान्ड सोल्टी होटल्स एण्ड रिसोर्ट्सले मधेश प्रदेशको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र वीरगञ्जमा नयाँ होटल सञ्चालन गर्दै आफ्नो सेवा सञ्जाल विस्तार गर्ने भएको छ।

कम्पनीले “सोल्टी वेस्टेण्ड रिसोर्ट वीरगञ्ज” नामक होटलको व्यवस्थापन तथा सञ्चालनको जिम्मा लिने भएको हो।

यो होटल हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडको स्वामित्वमा रहेको हो, जुन वीरगञ्ज महानगरपालिका–१४, गण्डक बाहुअरीमा अवस्थित छ। नेपालको आर्थिक मेरुदण्ड मानिने राष्ट्रिय राजमार्ग र अन्तर्राष्ट्रिय सिमा नाकाको नजिकै रहेकाले यो क्षेत्र स्वदेशी र विदेशी पर्यटक, व्यापारी तथा अवकाश यात्रुहरूका लागि विशेष आकर्षणको केन्द्र बन्दै आएको छ।

यस व्यवस्थापन सहकार्य अन्तर्गत सोल्टी होटल्स एण्ड रिसोर्ट्सको तर्फबाट उपाध्यक्ष सुदर्शन चापागाईं र हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडका अध्यक्ष सुनिल कुमार खेतानबीच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।

उपाध्यक्ष चापागाईंका अनुसार, “यो साझेदारी सोल्टीको लामो समयदेखिको लक्ष्य नेपालको प्रमुख शहरहरूमा उत्कृष्ट आतिथ्य सेवा प्रवाह गर्ने योजनाको महत्वपूर्ण प्रतिबिम्ब हो।” उनले थपे, “वीरगञ्जमा सोल्टी वेस्टेण्डको आगमनले समकालीन सुविधा, आत्मीयता र स्थानीय संस्कृतिको संगम प्रस्तुत गर्दै पर्यटकहरूलाई अविस्मरणीय अनुभव दिनेछ।”

पुसदेखि सञ्चालनमा ल्याउने तयारी

सोल्टी वेस्टेण्ड रिसोर्ट वीरगञ्ज आगामी पुस महिनादेखि व्यावस्थापनमा आउने तयारीमा रहेको छ। यो होटलले वीरगञ्ज शहरको पर्यटकीय तथा कर्पोरेट पाहुनाहरूमाझ समकालीन आतिथ्य सेवाको नयाँ अनुभव दिनेसाथै, शहरको सेवा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने अपेक्षा गरिएको छ।

होटलको सम्पूर्ण संरचना आधुनिक शैली र पर्यटन सुविधाको उत्कृष्ट संयोजनमा डिजाइन गरिएको छ। यहाँ आरामदायी अतिथि कोठा, विविध स्वादका व्यञ्जनहरू, पर्यटक र पारिवारिक पाहुनाका लागि उपयुक्त सेवा, साथै क्यासिनो भवन, बार, रेस्टुराँ, भोजन कक्ष जस्ता सुविधा रहनेछन्।

त्यस्तै, व्यावसायिक सभा, प्रीतिभोज, सामाजिक कार्यक्रमहरूका लागि प्रशस्त क्षमता भएका सभा कक्षहरू, साथै स्वीमिङ पूल, हेल्थ क्लब, स्पा र पर्याप्त पार्किङ व्यवस्था समेत उपलब्ध हुनेछन्। छोटो अवकाश होस् वा दीर्घकालीन व्यापारिक यात्रा, सोल्टी वेस्टेण्ड रिसोर्ट वीरगञ्ज सबै उमेर र समूहका पाहुनाहरूका लागि उपयुक्त गन्तव्यको रूपमा विकास गरिएको छ।

यस नयाँ साझेदारीले सोल्टी होटल्स एण्ड रिसोर्ट्सको पोर्टफोलियो थप सुदृढ बनाएको छ। कम्पनीले आफ्ना गुणस्तरीय सेवा, पाहुनाप्रतिको आत्मीय सत्कार र स्थानीय अनुभवलाई जीवन्त बनाउने लक्ष्यलाई निरन्तरता दिँदै मधेश प्रदेशमा सशक्त उपस्थिति जनाउने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्