११ श्रावण २०८३, सोमबार

नयाँ आर्थिक वर्षमा किन घट्यो निक्षेप ?



काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८२/८३ शुरु भएपछि बैंक तथा वित्तीय संस्थामा जम्मा भएको निक्षेप भारी मात्रामा घटेको देखिएको छ ।

गत असार मसान्तमा वाणिज्य बैंकहरुमा मात्रै ६५ खर्ब ३१ अर्ब निक्षेप जम्मा थियो । गत शुक्रबार (२० भदौ)सम्म निक्षेप घटेर ६५ खर्ब ९ अर्बमा झरेको छ । यसरी ५१ दिनको अन्तरालमा निक्षेप रकम २१ घटेको देखिन्छ ।

यो आँकडालाई अझ मिहिन रुपमा नियाल्ने हो भने भदौको तुलनामा साउनमा निक्षेप बढी घटेको देखिन्छ । असार मसान्तको तुलनामा साउन मसान्तमा निक्षेप रकम ५२ अर्ब रुपैयाँ घटेको थियो ।

बरु भदौ लागेपछि ३१ अर्ब रुपैयाँ निक्षेप थपिएर अहिलेको स्थितिमा आएको हो । साउनको दोस्रो हप्ता निक्षेप बढे पनि अन्तिम साता पुनः घटेको थियो । भदौ लागेपछि भने हरेक हप्ता निक्षेप बढ्दै गएको देखिएको छ । साप्ताहिक रुपमा निक्षेपको बृद्धि दर पनि उचालिँदै गएको छ ।

भदौको पहिलो साता ३ अर्ब ८१ करोड, दोस्रो साता ७ अर्ब १२ करोड र तेस्रो हप्ता १९ अर्ब ७९ करोड निक्षेप बढेको छ ।

निक्षेपमा यस्तो उतारचढाव देखिए पनि कर्जा भने निरन्तर बढेको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार साउनको तेस्रो हप्ता १२ अर्ब ३९ करोड, अन्तिम हप्ता ४ अर्ब १९ करोड कर्जा बढेको थियो । त्यसपछि भदौको पहिलो हप्ता १० अर्ब ५३ करोड, दोस्रो हप्ता ८ अर्ब ३६ करोड र तेस्रो हप्ता १० अर्ब ७५ करोड थप कर्जा प्रवाह भएको छ ।

आर्थिक वर्षको हिसाब हेर्दा पनि गत असार मसान्तमा वाणिज्य बैंकहरुको कुल कर्जा ४९ खर्ब ७५ अर्ब थियो । साउन मसान्तमा त्यो रकम ११ अर्ब घटेर ४९ खर्ब ६४ अर्बमा झर्यो । तर भदौ लागेपछि ३० अर्ब कर्जा थपिएर गत शुक्रबारसम्म ४९ खर्ब ९३ अर्ब पुगेको छ ।

भदैमिा निक्षेप ३१ अर्ब र कर्जा ३० अर्ब थपिएको छ । यसले वित्तीय प्रणालीमा कर्जाको माग बढ्दै गएको देखिन्छ भने निक्षेपको रफ्तार कमजोर पर्न थालेको देखिएको छ ।

रेमिट्यान्स आइरहेको भए पनि विस्तारै निक्षेपको बृद्धिभन्दा कर्जाको बृद्धिले ज्यादा रफ्तार लियो भने निकट भविष्यमा तरलता कम पर्नसक्ने र ब्याजदर उचालिन सक्ने संभावना रहन्छ ।

यो अवस्था आउनुमा निक्षेपकर्तालाई बेवास्ता गरेरै भए पनि ऋणीलाई थप लाभ दिने राष्ट्र बैंकको नीति नै मुख्य कारण भएको बैंकर बताउँछन् ।