इप्पानद्वारा युवामाथि सरकारको निर्मम र बर्बर दमनकाे भर्त्सना, सरकार समक्ष राख्याे ३ सूत्रीय माग
काठमाडाैं । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका जेनरेसन जेड (जेनजी) युवामाथि भएको बल प्रयोगप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले गहिरो चिन्ता व्यक्त गर्दै कडा शब्दमा निन्दा गरेको छ।
देशभर विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा १९ जना किशोर–किशोरीले ज्यान गुमाएको र सयौं घाइते भएको घटनालाई इप्पानले ‘निर्मम र बर्बर दमन’को संज्ञा दिएको हो।
ऊर्जा क्षेत्रमा ३ हजार मेगावाटभन्दा बढी उत्पादन भइसकेको र ५ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन अवस्थामा रहेको इप्पानमा आवद्ध उद्यमीहरूले राज्यलाई वार्षिक साढे ३ अर्ब रुपैयाँभन्दा बढी रोयल्टीसहित अर्बौं रुपैयाँ कर तिर्दै आएका छन्। संगठनले ऊर्जा तथा पूर्वाधार क्षेत्रमा लाखौं नेपालीलाई रोजगारी दिएको र समृद्धिका लागि योगदान पुर्याउँदै आएको उल्लेख गर्दै युवाहरूको आन्दोलनमा गरिएको बल प्रयोगले गम्भीर निराशा पैदा गराएको बताएको छ।
इप्पानले विज्ञप्तिमा भनेको छ, ‘राज्य सञ्चालनमा रहेका निकायहरू सिमित व्यक्तिको स्वार्थमा चलेका छन्। विकासका आयोजनामा वर्षौँ ढिलाइ, भ्रष्टाचार, वेथिति र कुशासनकै कारण युवाहरू सडकमा आउन बाध्य भएका हुन्।’
इप्पानले २०६२/६३ को जनआन्दोलनको स्मरण गर्दै भनेको छ, ‘त्यसबेला १९ दिनको आन्दोलनमा १९ जनाको ज्यान गएको थियो र निरंकुश राजाले त्यसपछि सत्ता छाडेका थिए। तर अहिले लोकतान्त्रिक सरकारकै पालामा एकैदिन १९ किशोर–किशोरीको मृत्यु हुनु अत्यन्तै खेदजनक छ।’
संगठनले शान्तिपूर्ण तरिकाले भ्रष्टाचार अन्त्य, जवाफदेहिता र अभिव्यक्ति स्वतन्त्रताको माग गरिरहेका किशोर–किशोरीहरूमाथि गरिएको अत्यधिक बल प्रयोग संविधानविपरीत भएको दाबी गरेको छ। ‘कुनै गैरकानुनी गतिविधि भए पनि नियन्त्रणका वैकल्पिक उपाय हुँदाहुँदै सिधै गोली चलाउनु अत्यन्तै आपत्तिजनक छ,’ इप्पानले जनाएको छ।
सरकार समक्ष इप्पानकाे तीन मुख्य माग
इप्पानले घटनापछि केवल गृहमन्त्रीको राजीनामाले मात्र सरकारको जिम्मेवारी पूरा नहुँने बताएकाे छ
घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचार र प्रदर्शनकारीहरूको उठान भएका वैध मागहरूको यथोचित सुनुवाइ यी मुख्य तीन माग इप्पनले राखेकाे छ ।
यस्तै इप्पानले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, घाइतेहरूको उपचारका लागि आर्थिक तथा भौतिक सहयोग गर्न सम्पूर्ण ऊर्जा उद्यमीहरूलाई अपिल समेत गरेको छ।













