शेरबहादुरको लालचले बन्धक बन्यो देश, नरसंहारको सारथी बनेर सत्तामा उक्लने चेष्टा !
काठमाडौँ । सिंगो पार्टी संगठन नै वर्तमान सरकारबाट बाहिर निस्कन दबाब दिइरहँदा समेत नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सत्ता साझेदारी त्याग्न तयार भएका छैनन् ।
कांग्रेसका मन्त्रीहरु धमाधम राजिनामा दिन थालेका छन् । तर पार्टी नेतृत्वले भने सरकार छाड्न तयार नभएको स्थिति छ ।
यसलाई कांग्रेसका देउवा निकट केही नेताहरुले ‘अप्ठेरो स्थितिमा साथ छोड्नु हुन्न’ भन्ने देउवाको सदासय भनेर व्याख्या गरिहेका छन् ।
तर धेरैको अनुमान चाहीँ भविष्यमा एमालेको साथबाट प्रधानमन्त्री बन्ने देउवाको लालचले अहिले उनलाई रोकिरहेको छ ।
एमाले र कांग्रेसबीच सत्ता साझेदारीको सम्झौता अनुसार आगामी असारमा केपी ओलीले देउवालाई सत्ता हस्तान्तरण गर्नुपर्ने हुन्छ । देउवा त्यही बेला पर्खिएर बसेका छन् ।
तर आन्दोलनको लहर फैलिँदै जाँदा सत्ताच्युत हुनसक्ने संभावनालाई भने देउवाले नजरअन्दाज गरिरहेको उनी निकटकै केही नेताको बुझाइ छ । देउवा अझै पनि परिस्थिति सरकारको नियन्त्रण बाहिर नगएको र यसलाई सुल्झाउन सकिने विस्वासमा छन् ।
त्यसैले पनि उनी सरकारलाई दिएको समर्थन फिर्ता लिएर सत्ताबाट बाहिर बस्न चाहिरहेका छैनन् । उनको यही लालचले भरिएको बुझाइ नै अहिले नरसंहारमा सहायक बन्ने कारण भइरहेको छ ।













