कर्फ्यू क्षेत्रहरूमा बैंक बन्द, अन्य क्षेत्रमा पनि आंशिक सेवा दिन निर्देशन
काठमाडौं । जेनजी आन्दोलनको बढ्दो प्रभावका कारण कर्फ्यु लागेका काठमाडौं उपत्यकाका क्षेत्रहरूमा बैंकहरू बन्द हुने भएका छन् ।
नेपाल राष्ट्र बैंकले कर्फ्यु लागू गरिएका क्षेत्रहरूमा बैंकहरूको कार्यालय नखोल्न र अन्य क्षेत्रमा पनि आंशिक रूपमा मात्र सेवा दिने निर्देशन दिएको छ ।
अनलाइन कारोबारमा गर्न आग्रह गरिएको छ । केन्द्रिय बैंकका अनुसार अत्यावश्यक सेवाहरू मात्र दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले अहिले बिहान साढे ८ बजेदेखि ‘अनिश्चितकालीन’ कफ्र्यु आदेश जारी गरेको छ । सोमबारको विरोध प्रदर्शनमा १९ जना मारिएको र ४२६ जना घाइते भएका थिए ।
सोमबार जारी गरिएको कफ्र्यु आदेश बिहान ५ बजे सकिएको थियो। यसपछि नयाँ आदेश जारी भएको हो ।
बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामङ्गल, गौशाला, चाबहिल, नारायण गोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु हुँदै बागमती पुलसम्म अर्थात् चक्रपथ भित्र निश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ ।













