सत्ता कब्जाको अन्तिम लक्ष्यतर्फ कदम चाल्दै आन्दोलनकारी, सिंहदरबार पछिको टार्गेट कहाँ ?
काठमाडौँ । आन्दोलन सुरु गरेको दोस्रो दिन नै जेनजी आन्दोलनकारीहरुले नेपालको सत्ता कब्जा गर्ने स्थिति देखिन थालेको छ ।
उनीहरुले मंगलबार विहानै सबैजसो बरिष्ठ नेताका निवासहरुमा आगजनी तथा तोडफोड गरे । त्यसपछि आन्दोलनकारीहरु ललितपुरको भैँसेपाटी स्थित मन्त्री निवासमा पुगे । त्यहाँबाट मन्त्रीहरु र तिनका परिवारलाई सुरक्षित स्थानमा सार्न नेपाली सेनाले ३ वटा हेलिकप्टर प्रयोग गर्यो ।
मन्त्री निवास खालि गरिसकेपछि विभिन्न सरकारी अड्डाहरु र कतिपय निजी सम्पत्ती समेत तोडफोड गर्दै आन्दोलनकारीहरु अब मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंह दरबारमा प्रवेश गरेका छन् । त्यहाँ रहेका संघीय मन्त्रालयहरुमा पसेर तोडफोड सुरु भएको छ ।
अब उनीहरुको अन्तिम गन्तव्य बालुवाटार स्थित प्रधानमन्त्री र अन्य उच्चपदस्थहरुको निवास क्षेत्र हुनसक्ने अड्कलबाजी गरिएको छ । सोमबार रातीदेखि नै विभिन्न सामाजिक सञ्जालका समूहहरुमा बालुवाटारमाथि धावा बोल्नेबारे चर्चा भएको आन्दोलनमा सहभागीहरुले बताएका छन् ।
अहिले राष्ट्रपति भवन बाहेक बाँकी सर्वाजनिक तथा प्रशासनिक अड्डाहरु ज्यादातर आन्दोलनकारीको नियन्त्रणमा पुगिसकेको छ । सिंहदरबारसँगै नयाँ बानेश्वरको संघीय संसद भवनमा पनि आन्दोलनकारी छिरिसकेका छन् ।
अब राष्ट्रपति रामचन्द्र पौडेलले कुनै निकास दिने उचित प्रयास नगरेको खण्डमा बालुवाटार पछि शितल निवास पनि आन्दोलनकारीको ‘लक्ष्य’मा आउनसक्ने जोखिम बढेको छ ।
यद्यपि, राष्ट्रपति पौडेलले अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन लगाउने वा उनलाई बर्खास्त गरेर आन्दोलनरत पक्ष समेतको सहभागितामा ‘नागरिक सरकार’ गठन गर्नेबारे नेपाली सेना र सबै सुरक्षा निकायसँग छलफल थालेको खबरहरु बाहिर आएका छन् ।













