संयुक्त राष्ट्रसंघले जेनजीका माग शान्तिपूर्ण ढंगले सम्बोधन गर्न आह्वान
काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) ले जेनजी आन्दोलनकारीका मागहरूलाई शान्तिपूर्ण रूपमा सम्बोधन गर्न सरकार र सबै पक्षलाई आह्वान गरेको छ ।
नेपालस्थित यूएन कार्यालयले आज जारी गरेको विज्ञप्तिमा भनेको छ,‘संयुक्त राष्ट्रसंघ नेपालमा संवाद र विश्वास निर्माणका प्रयासहरूलाई सहयोग गर्न तत्पर छ, जसले तनाव कम गर्न र समृद्ध नेपाल निर्माणमा टेवा पुर्याउनेछ ।’
यूएनले हिंसाको कुनै पनि रूपको विरोध गर्दै शान्तिपूर्ण प्रदर्शनको मौलिक अधिकारको सम्मान गर्न आग्रह गरेको छ । साथै, प्रदर्शनकारीलाई हिंसा नगरी शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न र सुरक्षाकर्मीलाई मानवअधिकार मापदण्ड अनुरूप कार्य गर्न सचेत गराएको छ ।
यूएनले अत्यधिक शक्ति प्रयोगमा संलग्न व्यक्तिहरू र संरचनाहरूको निष्पक्ष छानबिन गर्नुपर्ने पनि जोड दिएको छ । ‘समस्या समाधानका लागि संवाद सबैभन्दा उपयुक्त माध्यम हो’, विज्ञप्तिमा भनिएको छ । यूएनले नेपाललाई समृद्ध भविष्यतर्फ अघि बढ्ने विश्वास पनि व्यक्त गरेको छ ।















