सेनापतिको फिक्का सम्बोधन, किन दिन सकेनन् राजनीतिक कोर्षको खाका ?
काठमाडौँ । पोहोर सालको साउन २१ मा छिमेकी मुलुक बाङ्लादेशमा पनि यस्तै घटना भएको थियो । त्यसबेला बङ्गाली प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्रीबाट राजिनामा दिएर भारत भागेकी थिइन् ।
सोही दिन त्यहाँका सेनाप्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै ‘अब एउटा अन्तरिम सरकार गठन गरिने’ भनेका थिए ।
बङ्गाली प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै चाँडै कुनै ‘समाधान’ हासिल हुने विस्वास दिलाएका थिए ।
उनले सरकारको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट नपारे पनि ‘सेनालाई विस्वास गर्न’ नागरिकमाफ अपिल गरेका थिए ।
तर लगभग त्यस्तै घटना नेपालमा दोहोरिँदा यहाँको सेनाले भने कुनै पनि राजनीतिक तथा सुरक्षा प्रत्याभूतिको कबूल गर्न सकेन । प्रधानसेनापती अशोकराज सिग्देलले मंगलबार राती फेसबूक पेजमार्फत गरेको सम्बोधनमा यस्ता कुनै पनि प्रतिबद्धता समेटिएका छैनन् ।
उनले सेनाद्वारा मंगलबार दिउँसो जारी विज्ञप्तीका हरफहरुमात्रै पढेर आफ्नो सम्बोधन टुंग्याएका छन् । मंगलबार साँझतिरै प्रधान सेनापतीको सम्बोधन आउने भनिए पनि लामो प्रतीक्षापछि सेनापतिले अति संक्षिप्त र सामान्य विषयहरुमात्रै बोलेर टारिदिएका छन् ।
यसले अहिलेको अवस्थालाई नियन्त्रणमा लिएर नयाँ निकास दिनमा सेनाको भूमिका अपेक्षा गरिएजस्तो प्रभावकारी नहुन सक्ने संभावना देखिएको छ । जनधनको सुुरक्षा गर्ने वाचा गरे पनि सेनाले आन्दोलनरत पक्षलाई वार्तामा बोलाउनेभन्दा बढी केही पनि बोलेनन् ।
उनले वैकल्पिक राजनीतिक कोर्ष कसरी अघि बढ्छ र त्यसमा सेनाको भूमिका के हुन्छ भन्ने बारे विषय प्रवेश नै गर्न चाहेनन् । यसलाई कतिपयले राजनीतिक मुद्दाबाट सेना अझै बाहिर बस्न चाहेको रुपमा हेरेका छन् भने कतिपयले स्थिति नियन्त्रणमा तत्काल सेना अघि नसर्ने संकेतमा रुपमा पनि अर्थ्याएका छन् ।













