अटो शोरुमहरुमा आगजनी र तोडफोड, के छ क्षतिको आँकडा ?
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न महत्वपूर्ण संरचनामा प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका छन् ।
संघीय संसद भवन, सिंहदरवार, अदालतदेखि निजी क्षेत्रका केही बैंक र वित्त कम्पनीहरू जस्ता संवेदनशील स्थानहरूमा पनि आगजानी तथा तोडफोड भएका छन् । धेरै संरचनाहरु जलेर खरानी बनेका छन् ।
प्रदर्शनीहरुको आक्रमणबाट अटो शोरुमहरू बाँकी रहेनन् । काठमाडौंका थापाथली लगायत प्रमुख स्थानहरूमा रहेका अटो शोरुमहरूमा प्रदर्शनकारीहरूले आगो लगाएका छन् ।
आगजानीबाट लाखौं मूल्यका गाडीहरू जलेर खरानी भएका छन् । प्रदर्शनकारीले थापाथाली स्थित महिन्द्रा, सुजुकी, हुन्डाइ, टाटा, सीजी लगायतको शोरुममा आगलागी तथा तोडफोड गरेका छन् ।

आगजनीबाट अधिकांश शोरुम पूर्ण क्षति भएको छ । शोरुममा राखिएका गाडीहरू पनि जलेर नष्ट भएका छन् । प्रदर्शनकारीहरूले आगजानी गर्दा त्यहाँ रहेका कयौं गाडीहरू जलेका छन् भने लाखौंको सम्पत्ति नष्ट भएको छ ।
यी बाहेकका अन्य अटो कम्पनीहरूका शोरुमहरूमा पनि आगजनी र तोडफोड भएको छ ।
आन्दोलनको क्रममा सुरक्षाकर्मी, सरकारी कर्मचारीहरू र व्यवसायीहरू सबै संकटमा परेका छन् । अटो व्यवसायीहरू भने क्षतिको ठोस आँकडा दिन सक्ने अवस्थामा छैनन् ।
व्यवसायीका अनुसार धेरैजसो अटो शोरुमहरूमा आगो लगाइएको थियो । शोरुमका गाडीहरू, भित्ता र अन्य उपकरणहरू जलेर नष्ट भएका छन् । तर, के कति क्षति भयो भन्ने यकिन नभएको जानकारी गराएको छ । यतिबेला अटो कम्पनीहरूले छुट्टाछुट्टै रुपमा क्षतिको मूल्यांकन गर्दैछन ।












