१२ कार्तिक २०८३, बिहिबार

सुरक्षा अपडेट : लुटपाटमा संलग्न धमाधम पक्राउ, हतियार र नगद बरामद



काठमाडौं । नेपाली सेना र अन्य सुरक्षा निकायहरूको सक्रियतासँगै देशभरका विभिन्न स्थानहरूमा सुरक्षा कडाई गरिएको छ ।
महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाटमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यसै क्रममा डिल्लीबजारदेखि नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखे पश्चात भाग्ने प्रयास गरे पनि २ लाख ३२ हजार ५०० र २ हजार ५०० अमेरिकी डलर नगद बरामद गरिएको छ ।

यो आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको अपडेट हो । सुरक्षाकर्मीबाट लुटिएका हतियारहरू मध्ये हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएका छन् ।

यसैबीच, डडेलधुरा जिल्ला कारागारबाट फरार भएका २६ जना कैदीवन्दीलाई नियन्त्रणमा लिएको सेनाले जनाएको छ ।
काठमाडौं डिल्ली बजारस्थित सदर कारागारमा भाग्ने प्रयास गरिरहेका कैदीवन्दीलाई पनि रोकिएको छ ।

सुरक्षाकर्मीले देशभरका विभिन्न स्थानमा गस्ती र निगरानी कडा पारेको छ ।