संसदबाटै समाधान खोज्न प्रधानसेनापतिलाई दलहरूको सुझाव, जेनजीको माग के होला ?
काठमाडौँ । यसअघि संसद्मा रहेका मुख्य दलहरू नेपाली काँग्रेस, एमाले र माओवादीले अहिलेकै सांसदबाट राजनीतिक निकास खोज्न आह्वान गरेका छन् ।
बिहीबार काँग्रेस, एमाले र माओवादीका नेताहरूले संसद् विघटन गर्न कानुनी जटिलता रहेकाले यही सांसदबाट निकास खोज्न प्रधानसेनापतिलाई आग्रह गरेका छन् ।
अहिलेकै व्यवस्था जोगाएर पनि जेनजीले उठाएका मुद्दामा सहमति खोज्न सकिने भन्दै दलका नेताहरूले सैनिक मुख्यालयलाई सन्देश पठाएका छन् ।
संसद् विघटन गरेर जाने कि यही सांसदबाट निकास खोज्ने भन्नेमा रास्वापामा पनि मत विभाजन देखिएको छ ।
रास्वपाका सांसद सोभिता गौतमले संसद् विघटन गर्नु जनतामाथि अन्याय हुने दाबी गरेकी छिन् भने तोसिमा कार्कीले संसद् विघटन नै अहिलेको उपयुक्त विकल्प रहको धारण सार्वजनिक गरेकी छिन् ।
काँग्रेस महामन्त्री गगन थापाले भिडियो सन्देश मार्फत यही संविधान अनुसार अघि बढ्न जङ्गी अड्डालाई सुझाव दिएका छन् । त्यस्तै राष्ट्रपतिलाई सार्वजनिक गर्नुपर्ने मागसहित काँग्रेस एमाले र माओवादीका युवाहरू सडकमा आइसकेका छन् ।
जेनजीको आन्दोलनका अगुवा अहिलेसम्म पनि नदेखिएको अवस्थामा सेनाले पनि विकल्पका बारेमा सोच्न थालेको छ । जेनजी भित्र पनि केहीले बालेन शाहलाई अघि बढाउन दबाब दिएका छन् । तर बालेन स्वयम् चाहिँ अन्तरिम सरकारको नेतृत्व गर्न अनिच्छुक देखिन्छन् ।
जेनजीका केही युवाहरूले बिहीबार धरानका नगर प्रमुख हर्क साम्पाङ राईलाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सुनधारामा आन्दोलन गरेका थिए ।
उता सेनाले राजावादी आन्दोलनको नेतृत्व गरेर गत जेठ १४ गते तीनकुनेमा वितण्डा मच्चाएका दुर्गा प्रसाईँलाई बढी महत्त्व दिएको छ । प्रसाईँ सेनासँग वार्ता गर्न भन्दै यसबिच दुई पटक सैनिक मुख्यालय पुगिसकेका छन् ।
यी घटनाक्रमले पुनः स्थापित राजनीतिक दल, जेनजी र सेनाका साथै राजावादी सक्तीहरूबिच समेत चौतर्फी टकराबको स्थिति आउनसक्ने जोखिम बढाएको छ ।
यस्तो बेला सेनाले वर्तमान संविधानको अधिनभित्रैबाट समाधान खोज्ने कोसिस गर्नु ज्यादा तर्कसङ्गत हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।













