अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा सुचारू गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं। नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी र भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरूलाई आफ्नो व्यवसायिक निरन्तरतालाई मध्यनजर गर्दै अत्यावश्यक बैंकिङ सेवा सुरू गर्न आग्रह गरेको छ।
बैंकले नेपाल सरकारको रक्षा मन्त्रालय र नेपाली सेनाले जारी गरेको विज्ञप्ति अनुसार, आवतजावत हुने गरी सिमित कर्मचारीबाट अत्यावश्यक र डिजिटल भुक्तानी सम्बन्धी सेवा सुरू गर्न भनिएको हो।
यसका लागि संस्थाहरूले डिजिटल प्रणालीको सुरक्षा, प्राविधिक संरचना र आवश्यक सेवा निरन्तरता सुनिश्चित गर्नुपर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ। बैंक शाखा, एटीएम र उपलब्ध सेवाहरूको बारेमा जानकारी आफ्नो वेबसाइट तथा सामाजिक सञ्जाल मार्फत सर्वसाधारणमा जनकारी गराउन पनि निर्देशन दिइएको छ।
साथै, संस्थाहरूलाई विशेष ध्यान दिएर रिमोट पहुँचको व्यवस्थापन गर्न र आपतकालीन स्थितिमा समन्वयको तयारी गर्न पनि निर्देशन दिइएको छ।















