प्रदर्शनकारीले घर जलाएपछि भावुक हुँदै गभर्नर भने ‘कसैको दुई पैसा खाएको छैन’
काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्व पौडेलको भैसेपाटी स्थित घर जेनजी प्रदर्शनकारीले जलाएका छन्।
हालैको हिंसात्मक आन्दोलनका क्रममा गर्भनर पौडेलको घरमा आगजनी र चितवनको पुख्यौली घरमा तोडफोड भएको गभर्नर आफैले पुष्टि गरेका हुन् ।
यस घटनामा कुनै पनि मानविय क्षति नभएपनि, घरका केही महत्वपूर्ण सामान र सामग्री क्षति पुगेको छ।
सामाजिक सञ्जाल फेसबुमा जलिरहेको र तोडफोड गरीएको घरको भिडियो राख्दै गर्भनर पौडेलले दुख व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘यो चाहिँ मेरो भैसेपाटिको घर जल्दै गरेको भिडियो हो। मैले योजना आयोगको उपाध्यक्ष हुनु अगाडि छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाच आना जग्गामा बनाएको घर हो। श्रीमती र मेरी ९ वर्षकी छोरीलाई यो घर धेरै मन पर्ने भएकोले गभर्नर भएपछि पनि यही बस्थ्यौं।’
पौडेलले घरमा रहेको महत्वपूर्ण सामग्रीहरूको बारेमा पनि उल्लेख गरेका छन्। उनले भने, ‘घरको भित्रको बनावट सुन्दर थियो। माथिल्लो तल्लामा किताब, ऐतिहासिक सामग्रीहरू, विभिन्न देशहरूबाट किनेर ल्याएका कलाकृतिहरू थिए। माओत्सेतुङदेखि लिएर भियतनामि सिल्क पेन्टिङ र देविदेवताका मुर्तिहरू थिए। मेरा छोरीको मन पर्ने कोठा पनि त्यही थियो।’
घरको आगजनी घटनाका बारेमा उनले थपेका छन्, ‘घटना भएको दुई घन्टा अघिनै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो। मैले बुझ्दा घरमा केहि भएको थिएन। पछि भने घर भित्र मानिस गए र बा आमाको फोटो, मेरी छोरीको सानो छदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए।’
पौडेलले भने, ‘मेरी छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको यौटा मन्त्रेको खेलौना थियो, त्यो पनि कुल्चिएर आगो लगाइयो। राति मेरी छोरी र श्रीमती नजिकको घरमा गएर सुते, म अर्को स्थानमा थिएँ। हामी सबै शरणार्थी भयौं। रातभरि घर जलिरह्यो, ढिला सम्म सामान चोरी भएको छ। छिमेकीहरूले भन्नुभयो कि केही व्यक्तिहरू आएर ढुङ्गा हानेर र सामान चोरेर गएका थिए। मैले सबैलाई ठिकै छु भनेर जवाफ दिएको छु। हिजो राति म भन्दा पनि पिडामा परेका व्यक्तिहरुको बारेमा पढेँ। त्यसैले मैले यो भिडियो पोस्ट गरेको छु, ताकि सबैलाई थाहा होस्। नयाँ सरकार बन्दै छ। कसैलाई मैले दुइ पैसा खाएको या मागेको खबर भए भने रिपोर्ट गर्नुहोस्। यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ।’














