देश राजनीतिक शून्यतामा गएको कांग्रेसको भनाइ, दलहरुसँग संवाद थाल्ने
काठमाडौँ । नेपाली कांग्रेसले देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा रहेको बताएको छ ।
आफ्नी धर्मपत्नीको उपचारका लागि बेल्जियम पुगेका कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रीय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी छ ।’
महतले भनेका छन्, ‘कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ ।’
उनले नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति भएको भन्दै आफ्नो पार्टिले अन्य लोकतन्त्र र संविधानप्रति प्रतिवद्ध दलहरुसंग तत्काल संवाद गर्न आह्वान गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘शान्ति, सुरक्षा, संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपति ज्यूको अगुवाईमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ ।’
नवयुवा पुस्ताद्वारा आयोजित हालैको विरोध प्रदर्शनका क्रममा ‘हुन नपर्ने’ दुःखद घटना भएकोप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।
काङ्ग्रेसले भदौ २४ को एक दिनको क्षति १० वर्षे माओवादीद्वन्दको बेला भन्दा धेरै बढी हो । यस्ले लगानीको वातावरणलाई पनि बिगारेको र क्षतिपुर्ती गर्न वर्षौ समयका साथै ठुलो लगानी लाग्ने बताएको छ ।
साथै विज्ञप्तीमा भनिएको छ, ‘पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरू माथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भत्र्सना गर्दछु ।’















