प्रहरी चौकीहरूको पुनर्निर्माण र पुन:र्स्थापनामा जुट्यो समुदाय
काठमाडौँ। आन्दोलनकारीहरूले लुटपाट र आगजनी गरेर विध्वंस पारेका प्रहरी चौकीहरूको पुन:निर्माण एवं पुन:र्स्थापनामा स्थानीय समुदायले पहल थालेको छ।
ललितपुरमा बिहीबार नै स्थानीयले प्रहरी चौकी पुनस्थापना गरी त्यहाँ दरबन्दी रहेका प्रहरीहरूलाई स्वागत गरेपछि देशभर यस किसिमको लहर सिर्जना भएको छ।
काठमाडौँका टोलटोलमा रहेका क्षतविक्षेत चौकीहरूको पुनर्निर्माण गर्न स्थानीय सरकार, स्थानीय टोल विकास समितिहरू र नागरिकको सहभागिता जुटेको छ।
प्रहरी जवानको लत्ता कपडादेखि सञ्चार उपकरण, कम्प्युटर लगायत सम्पूर्ण सरसामान, विभिन्न मुद्दाका फाइलहरू, प्रमाणहरू, छोरी तथा लुटपाटबाट जफत गरिएका धनमालहरू, लगायतका सम्पूर्ण चिजको नाश भएको छ। प्रहरीका हतियार लुटिएका छन् । कतिपय स्थानमा त उनीहरूका पोशाक नै लुटिएका छन्।
यसरी अस्तव्यस्त भएको भौतिक संरचना र बन्दोबस्तीलाई पुन:र्स्थापित गरी प्रहरी चौकीहरू पूर्ववत अवस्थामा फर्काउन सबैको सहयोग आवश्यक देखिएको छ।
प्रहरी कार्यालयका भवनहरू पनि ध्वस्त पारिएका छन्। झ्यालढोका लगायत काठका सम्पूर्ण संरचनाहरू जलेर नष्ट भएका छन्। घरका भित्ताहरू प्वाल पारिएका छन्, भत्काइएका छन्।
चौकीको संरक्षणमा लगाइएका पर्खाल तथा तारबारहरू भत्काइएका छन्। धेरैजसो चौकीमा भित्तामा लगाइएको रङ्ग पनि आगोले डडेर कालै भएका छन्।
यसरी विध्वंस पारिएका संरचनाहरूको पुनर्निर्माण गर्नुपर्ने आवश्यकता छ भने प्रहरीका लागि आवश्यक फर्निचर, कम्प्युटर तथा सञ्चार उपकरणहरू र पोशाकहरूसम्म व्यवस्था गर्नुपर्ने आवश्यकता छ।
यस्तो अवस्थामा स्थानीय तहहरूले आफ्ना विभिन्न शीर्षकको बजेटबाट, स्थानीय टोल विकास समितिहरूले आफ्नै कोष र चन्दा सङ्कलनबाट पनि प्रहरी कार्यालयहरूको पुन:निर्माण गरी सुरक्षा व्यवस्थालाई सुदृढ पार्न सघाइरहेका छन्।
यो लहर बिस्तारै देशैभर फैलिने सम्भावना छ।













