जलेको नगदमा थरिथरीका अनुमान, नेताका घरमा कति थिए पैसा ?
काठमाडौँ । अहिले प्रमुख दलका शीर्ष नेताको घरमा ब्यापक मात्रामा पैसा जलेको भनेर खबरहरु आइरहेका छन् । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घरमा पैसा राख्न अलग्गै कोठाहरु बनाइएको भनेर भिडियोहरु सामाजिक सञ्जालमा फैलिएका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा भने कोही पनि व्यक्तिलाई भित्र प्रवेश गर्न नदिएका कारण त्यहाँ कत्रो कोठामा कति पैसा राखिएको थियो भन्ने अनुमान गर्न कठीन छ ।
कतिपयले डेढ–दुई खर्ब रुपैयाँ नै यसरी लुकाइएको र त्यसमध्ये ज्यादातर पैसा नाश भएको बताइरहेका छन् ।
हाम्रा साथिहरुले कांग्रेस र माओवादीको नेतृत्वका निवास स्थानहरु हेरेर फर्किनु भएको छ । उहाँहरुका अनुसार माओबादी अध्यक्ष अध्यक्ष दाहालको घरमा अन्दाजी ६ फुट लामो र ४ फुट फराकिलो कोठामा पैसा राखिएको देखिन्छ । त्यो कोठाको उचाई चाहीँ १० फुट हाराहारी थियो ।
यस आधारमा उक्त कोठामा रू. १००० दरका नोटहरु बाकसमा जस्तै मिलाएर राखेको र पुरापुर भरिभराउ भएको अवस्थामा ५५ लाख ५० हजार हाराहारी नोट अटाउँछ । यसको मूल्य ५ अर्ब ५५ करोड बराबर हुन्छ । तर कुनै पनि कोठामा त्यसरी भरिभराउ गरी नोट राख्न सम्भव नै हुँदैन ।
त्यहाँ भएको खरानीको थुप्रोले पनि नोटले आधाभन्दा कममात्रै उचाइ ढाकेको हुनसक्ने अन्दाज लगाउन सकिन्छ । यदी त्यो खरानी सबै नोट जलेकै हो भने उनको घरमा २ देखि ३ अर्ब रुपैयाँ बराबरको नोट रहेको अनुमान गर्न सकिन्छ । तर ती नोटहरु सबै १००० दरका नहुन सक्छन् ।
यसले नोटको आयतन फरक पर्न जान्छ । पुराना नोटहरु राख्दा नयाँको तुलनामा डेढ गुणा हाराहारी आयतन ओगट्छ । त्यसैले त्यो कोठामा असाध्यै धेरै नोट भएको भए २ अर्ब रुपैयाँ मूल्य बराबरको हुनसक्ने अड्कल काटिएको छ ।
उता शेरबहादुर देउवाको घरमा चाहीँ नोटमात्रै राख्ने अलग्गै कोठा नभएर एक स्टोर रुम फेला परेको छ । त्यसका भित्तामा दराज (र्याक)हरु राखेर त्यसमा नोट भरिएको देखिन्छ । उक्त कोठाको आकार अलि ठूलो छ । सतहको क्षेत्रफल नै १५० वर्ग फुट हाराहारी रहेको अनुमान गरिएको उक्त कोठामा भरिभराउ नोट राख्ने हो भने त साढे ३ कराडभन्दा धेरै संख्यामा नोट राख्न पुग्छ ।
तर त्यहाँ भित्तामा जोडिएका दराजहरुमा मात्रै नोट राखिएको देखिन्छ । भूइँमा भएको खरानीले पनि पुष्पकमल दाहालको घरमाभन्दा देउवाको घरमा कम नोट रहेजस्तो देखिन्छ । फरक फरक बाकसमा विभाजित दराजमा भएका कारण नै देउवाको घरमा नोट एकैठाउँमा जल्न पाएन । त्यसैले मानिसहरुले पछिसम्म पनि नोट फेला पार्ने अवस्था बन्यो ।
देउवाको उक्त कोठाको भूइँमा भूमिगत पानी ट्यांकीजस्तो देखिने सानो खाडल पनि फेला परेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए । तर त्यहाँ पनि बालुवाबाहेक अरु केही नभेटिएको बताइएको छ । हुनसक्छ, पहिले नै कसैले त्यहाँबाट बहुमूल्य रत्न तथा आभूषण चोरिसकेका थिए कि ?
यद्यपि, त्यहाँ न खरानी थियो, न नगद वा अन्य गरगहना नै । त्यसैले देउवाको घरमा असाध्यै धेरै नगद थियो भन्ने अनुमान लगाउन कठीन छ । त्यति हुँदा पनि करोडौँ रकम उनको घरमा नगद रहेको भने देखिन्छ ।
त्यस्तै, ऊर्जामन्त्री दीपक खड्काको घरबाट पनि नोटहरु हावामा उडेका भिडियोहरु सार्वजनिक भएका छन् । त्यहाा बोरामा राखिएको पैसा आन्दोलनकारीले बाहिर ल्याएर चङ्गा झैँ उडाएको खबरहरु पनि आएका छन् । तर त्यहाँ भने यस्तो नोटै राख्ने गरी बनाइएको अलग्गै कोठा भेटिएको बारे जानकारी प्राप्त भएको छैन ।













