१२ कार्तिक २०८३, बिहिबार

रवि निस्किए, हजारौं भागे : कारागार प्रमुख भन्छन्,‘त्यस्तो पत्र हामीसँग छैन’



काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन अर्थात् भदौ २४ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागारबाट रिहा भए ।

आन्दोलन चर्किँदै जाँदा उनीलाई लिन पार्टी नेता–कार्यकर्ता जेल पुगेका थिए । रास्वपाका अनुसार गृह सचिवस्तरीय निर्णय अनुसार लामिछानेलाई पत्नी निकिता पौडेलको जिम्मा लगाएर रिहा गरिएको थियो ।

रिहापछि लामिछानेले कानुनी प्रक्रिया पूरा गरेर मात्र बाहिरिएको दाबी गर्दै कारागार प्रशासनको पत्रसमेत सार्वजनिक गरे । तर, नख्खु कारागारका प्रमुख सत्यराज जोशीले उक्त पत्रबारे कुनै जानकारी नभएको बताए ।

‘पत्रको कुनै अंश पनि मिलेन’ भनी उनले हिमालय टेलिभिजनसँग प्रतिक्रिया दिएका छन् । लामिछानेको रिहापछि देशभरका कैदीबन्दीहरूमा चर्को असन्तुष्टि देखिएको छ । धेरैले ‘रवि छुटे, हामी किन होइन ?’ भन्दै जेल तोडफोड र आगजनीमा उत्रिएका थिए ।

जेनजी आन्दोलनका क्रममा देशभरका २६ कारागार र बाल सुधारगृहबाट १३ हजार ७७९ जना कैदी फरार भएका थिए । हालसम्म ११ हजार ४६१ जना अझै फरार छन् । नख्खु कारागारका दुई ब्लक पूर्ण ध्वस्त भएका छन् । अहिले १०० कैदीबन्दी फिर्ता भइसकेका छन् भने मानसिक समस्या भएका कैदीहरूलाई उद्धार गरिँदैछ ।