११ श्रावण २०८३, सोमबार

नेपालमा जेन–जी आन्दोलन, अब के गर्न सकिन्छ ?



शिवराम ढकाल

आज यस देशका असङ्ख्य युवाका मनमा एउटा समान भावनाले गहिरो छाप छाडिरहेको छ, ‘हाम्रो जन्म नै दुर्भाग्य हो कि ?’ सामान्य परिवारमा जन्मेर हुर्कनु, पढ्नु, सङ्घर्ष गर्नु– यही नै कुनै अभिशाप हो कि जस्तो लाग्ने अवस्था सिर्जना भएको छ । त्यसैले धेरै युवक विदेश भासिने गरेका छन् ।

जीवनको सुरुवातदेखि नै यातना
सामान्य नेपाली परिवारमा जन्मनु भनेको सुविधाभन्दा बढी सङ्घर्षसँगै हुर्कनु हो । शिक्षा, स्वास्थ्य र अवसरको कमीले नयाँ पुस्तालाई निरन्तर पछार्दै आएको छ । अस्पतालमा उपचार लिन जाँदा पनि प्राइभेट–गभर्मेन्ट सिन्डिकेटको चपेटामा परेर लाखौँ खर्च गर्नुपर्ने बाध्यता छ । विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षामा लुटतन्त्र, असमानता, राजनीति र व्यवस्थापकीय कमजोरी छ । रोजगारीमा सक्षमताभन्दा पार्टी, युनियन वा सिन्डिकेटको सदस्यता नै प्रमुख आधार बनेको छ । यसरी सुरुदेखि नै युवालाई यातना, निराशा र अन्यायले घेरेको छ ।

जेन–जीको वास्तविकता
जेन–जी (सन् १९९७–२०१२ बिच जन्मिएका पुस्ता) विश्वव्यापी रूपमा डिजिटल, प्रगतिशील र आत्मनिर्भर सोच राख्ने पुस्ता मानिन्छ । नेपालमा भने यो पुस्ता निम्न अवस्थाबाट गुज्रिरहेको छ–

राजनीतिक दलको हुर्मत: नयाँ पुस्ताको आशा र आवाजलाई दलहरूको स्वार्थले दबाइदिएको छ ।
खोक्रो संरचना: कानुन, शिक्षा, रोजगार प्रणाली सबै कागजमा मात्रै बलियो, व्यवहारमा लथालिङ्ग छ ।
सामाजिक दमन: नयाँ सोच्ने, नयाँ कुरा गर्ने, नयाँ काम गर्नेलाई ‘घमन्डी’ वा ‘नचल्ने’ भनेर समाजले बहिष्कार गर्ने प्रवृत्ति छ ।

युवाहरूले देखेका छन्– बेथिति र विसङ्गति केवल संसद् वा सडकमा मात्र नभई आफ्नै घर, विद्यालय, कार्यालय, छिमेकी र व्यापारिक साझेदारसम्मै फैलिएको छ ।

युवा पुस्ताको पीडा
कुनै कम्पनी दर्ता गर्न जाँदा फाइल हराउने, काम पूरा गर्न घुस र सिफारिसको आवश्यकता देखिन्छ । नयाँ व्यवसाय सुरु गर्दा सरकार र कर कार्यालयले टेवा दिनाको साटो झन् मानसिक र आर्थिक यातना थप्ने गरेका छन् । जागिरमा प्रतिभा र मिहिनेतभन्दा चाकरी, सिफारिस र गुलामीलाई प्राथमिकता दिइन्छ । स्वास्थ्य, शिक्षाजस्ता आधारभूत सेवामा पनि सर्वसाधारणलाई ठग्ने प्रवृत्ति छ । यी सबैले गर्दा युवाको आत्मबल चुँडिएको छ, उद्यमशीलता मरेको छ र प्रतिभा पलायन भएको छ ।

नेपालमा जेन–जी आन्दोलन
हालका वर्षमा जेन–जीले सामाजिक सञ्जालदेखि सडकसम्म आफ्नो आवाज बुलन्द गर्न थालेका छन् । भ्रष्टाचारविरुद्ध टिकटक, फेसबुक, ट्विटर, एक्समार्फत अभियान चलाइएको छ । शिक्षा र रोजगारीमा सुधारका लागि विश्वविद्यालय र क्याम्पसमा आन्दोलन उठ्न थालेका छन् । लुट, ठगी र बेथितिका विरोधमा युवा पुस्ताको सडकमा उपस्थिति छ । यो आन्दोलन केवल पार्टीगत होइन, जागरण र असहमतिको सामूहिक स्वर हो ।

अब के गर्न सकिन्छ ?
नेपालजस्तो देशमा पुस्तागत निराशा अन्त्य गर्न केही आधारभूत कदम आवश्यक छन्–

प्रणालीगत सुधार
शिक्षा प्रणाली ः प्राविधिक, व्यावहारिक र रोजगारीमुखी शिक्षा
स्वास्थ्य प्रणाली ः सरकारी अस्पतालमै गुणस्तरीय सेवा, निजीकरणको नियमन
रोजगारी नीति ः क्षमतामुखी भर्ती प्रणाली, पारदर्शी करिअरको बाटो

सामाजिक सुधार
नयाँ सोचलाई स्विकार्ने सामाजिक संस्कार ।
उद्यमशीलता र इमानदार कामलाई सम्मान गर्ने वातावरण ।
भ्रष्टाचारमा संलग्नलाई पार्टी वा हैसियत हेरेर होइन, कानुनअनुसार कठोर सजाय ।

युवाको सक्रियता
जेन–जीले केवल आलोचना मात्र होइन, वैकल्पिक समाधान पनि प्रस्तुत गर्नुपर्ने हुन्छ । प्रविधि, उद्यमशीलता र सामाजिक अभियानमार्फत नयाँ बाटो खोल्ने गर्नुपर्छ । व्यक्तिगतस्तरमै इमानदार, अनुशासित र परिवर्तनमुखी व्यवहार अँगाल्नु आवश्यक छ ।

निष्कर्ष
‘दुर्भाग्य’ भन्ने शब्दले नेपाली युवाको वर्तमान यथार्थलाई प्रस्टै व्याख्या गर्छ । तर, यही पीडा, सङ्घर्ष र निराशाबाटै नयाँ चेतना जन्मिन्छ । आजको जेन–जीले भोगेका यातना र अन्याय नै तिनले भोलिका लागि न्याय र समृद्धिको बाटो बनाउन सक्नेछन् यदि उनीहरूले आवाजलाई आन्दोलनमा, आन्दोलनलाई प्रणालीगत सुधारमा रूपान्तरण गर्न सके ।

नेपालका युवाको पीडा व्यक्तिगत मात्र होइन, सामूहिक हो र सामूहिक पीडा नै भविष्यको सामूहिक समाधानको आधार हो ।

(लेखक बैंकर्स हुनुहुन्छ ।)