१२ कार्तिक २०८३, बिहिबार

भोलिदेखि नै संचालन हुने भयो सहुलियत पसल, कुन सामानमा कति छुट पाइने ?



काठमाडौं । भोलि अर्थात् भदौ ३० गतेदेखि देशभर सहुलियत पसल संचालनमा आउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भोलिदेखि नै ४५ जिल्लाका १११ स्थानबाट सहुलियत पसल सञ्चालन गर्न लागेको हो ।

जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण सहुलियत पसल संचालन अनिश्चितता थियो । स्थिति नियन्त्रणमा लिन नेपाली सेनाले निषेधाज्ञा र कफ्र्यू जारी गरेको थियो । तर, अहिले खुकुलो भएको छ ।

सहुलियत पसलमा ग्राहकहरूले खाद्यका आउटलेट र बिक्री केन्द्रबाट विभिन्न सामानमा छुट पाइनेछन् । सर्वसाधारणले चामल, चिनी, तेल, चिउरा, आटा लगायतका खाद्यान्न सामग्रीमा छुट पाउनेछन् । यसमा चामल, चिनी, गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट, खाने तेल, चिउरा, आटा, मैदामा ७ रुपैयाँ र चिउरा, जिरा, धनियामा १० रुपैयाँ छुट दिइने छ ।

तर, खसीबोका र च्याङ्ग्राको बिक्री भने अनिश्चित बनेको छ । खसीबोका र च्याङ्ग्राको अग्रिम अनलाइन बुकिङ भएको भए पनि, सामाजिक सञ्जाल बन्द र जेनजी आन्दोलनका अवरोध आएको छ । तर, स्थानीय तहसँग आवश्यक समन्वय गरि वर्तमान परिस्थितिमा १–२ दिन पर्खेर निर्णय लिने कम्पनीले जनाएको छ ।