७ श्रावण २०८३, बिहिबार

‘हिल्टन होटलको आगजनीले व्यापारिक प्रतिष्ठामा चोट, झूटो समाचारले व्यवसायिक क्षेत्रलाई हानी’



काठमाडौं । हालैका जेनजी आन्दोलनपछि जनजीवन सामान्य अवस्थामा फर्किएको छ । तर आन्दोलनसँग सम्बन्धित भ्रामक समाचारहरूले व्यवसायिक प्रतिष्ठामा नकारात्मक असर पुर्याएको छ ।

विशेषगरी शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सका बारेमा फैलाइएका भ्रमपूर्ण समाचारलाई लिएर यी संस्थाहरूले गम्भीर आपत्ति जनाएका छन् ।

सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका संचालक साहिल अग्रवालले भनेका छन्,‘हामीले ’हामी नेपाल’ संस्थासँग केवल कोभिड महामारीको समयमा समाजसेवा उद्देश्यका लागि सहकार्य गरेका थियौं । अहिले हाम्रो र उक्त संस्थासँग कुनै सहकार्य छैन ।’

विज्ञप्तिमा भनिएको,‘त्यो समयमा हामीले नेपालका प्रभावित व्यक्तिहरूसँग सहयोग गरे, जुन समाजसेवा र सामाजिक उत्तरदायित्व अन्तर्गत थियो । तर, केही सञ्चारमाध्यमले हालको आन्दोलनसँग हाम्रो नाम जोडेर झूठा समाचारहरू फैलाइरहेका छन्, जसले हाम्रो प्रतिष्ठामा असर पुर्याएको छ ।’

‘हामी नेपाल’का कुनै राजनीतिक र संस्थागत गतिविधिहरूसँग कुनै सरोकार नभएको विज्ञप्तिमा उल्लेख छ । तर, अहिले विभिन्न सञ्चार माध्यममा प्रकाशन भएका भ्रमक समाचारहरूको कारण उनीहरूको व्यवसायिक प्रतिष्ठा र नेपालका व्यापारिक क्षेत्रको छवि प्रभावित भएको छ ।

‘हाम्रो द्वारा प्रर्वद्धित होटल हिल्टनको आगजनी र भौतिक क्षतिका कारण नेपाली पर्यटन र व्यापारिक क्षेत्रलाई गम्भीर असर पुगेको छ। यस घटनाले केवल हाम्रो व्यवसायलाई मात्र नभएर, सम्पूर्ण देशको प्रतिष्ठामा चोट पुर्याएको छ’, विज्ञप्तिमा भनिएको छ,‘ हामीले नेपालमा लगानी गरेका थियौं, जसले नेपाली जनतालाई नयाँ अवसर र रोजगारी दिएका थिए । तर, केही कुत्सित मनसाय भएका व्यक्तिहरूले हाम्रो नाममा गलत समाचार फैलाएर यस व्यवसायको भविष्यमा अनावश्यक संकट ल्याएका छन् ।’

यद्यपि शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सका प्रमुखहरू विचलित नभएको विज्ञप्तिमा उल्लेख छ । ‘यस संकटको बीच पनि हामी दृढ रहन्छौं। हाम्रो उद्देश्य भनेको नेपाल र नेपाली जनताको भलाईमा योगदान पुर्याउनु हो, र हामी यही प्रतिबद्धतासाथ अगाडि बढ्नेछौं’, विज्ञप्तिमा भनिएको छ ।

सबै नेपालीलाई भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेका छन् । नेपालमा लगानी गरेर त्यहाँको व्यापार र पर्यटन क्षेत्रलाई सुदृढ बनाउने उद्देश्य रहेको जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्