आन्दोलनका कारण बैंकका ६८ कार्यालयमा क्षति, बैंकिङ प्रणालीको कार्यसम्पादनमा छैन समस्या
काठमाडौं । जेनजी आन्दोलनका कारण बैंकका साढे पाँच दर्जन शाखा कार्यालयमा क्षति पुगेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले जेनजी आन्दोलनका क्रममा ६८ वटा बैंक शाखा कार्यालयमा क्षति पुगेको जानकारी दिएका छन् ।
सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रम पछि बोल्दै गभर्नर पौडेलले भने यस्तो जानकारी गराएका हुन् । आक्रमण भएपनि बैंकिङ प्रणालीको मुख्य कार्यसम्पादनमा कुनै समस्या नआएको उनले बताए ।
पौडेलले भने,‘६९ वटा एटीएममा केही असर परेको छ । तर बैंकिङ सेवा सामान्य छ । अहिले सबै प्रणालीहरू ठिकठाक काम गरिरहेका छन् ।’
आन्दोलनको कारण सिर्जना भएका समस्याहरू समाधान गर्न सबैको मनोबल बढाउनु पर्ने आवश्यकतामा उनले जोड दिएका छन् ।













