नेपालबाट साउनमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रूपैयाँ बाहिरियाे
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै अध्ययनका लागि रु १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अध्ययनतर्फको खर्च गत वर्षको सोही अवधिको तुलनामा थोरै घटेको छ। गत वर्ष साउनमा रु १४ अर्ब ९६ करोड खर्च भएकोमा यस वर्ष रु १४ अर्ब ३१ करोड खर्च भएको देखिन्छ।
त्यस्तै, चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण खर्च पनि २.८ प्रतिशतले घट्दै रु २१ अर्ब ७० करोडमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो खर्च रु २२ अर्ब ३२ करोड थियो।
समीक्षा अवधिमा खुद सेवा आय रु १३ अर्ब ३९ करोडको घाटामा गएको छ। अघिल्लो वर्ष सोही अवधिमा यो घाटा रु १५ अर्ब ६ करोड थियो।
यता, सेवा खातामै पर्ने भ्रमण आय भने १२.७ प्रतिशतले वृद्धि भई रु ५ अर्ब ३८ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यो आय रु ४ अर्ब ७७ करोड थियो।















