११ श्रावण २०८३, सोमबार

सेयर बजारमा ठुला लगानीकर्ताको बढ्दो सक्रियता, एक महिनामै थप ३ अर्ब ८३ करोड सेयर कर्जा प्रवाह



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेयर धितो कर्जा बढेको छ । एकै महिना झन्डै ४ अर्ब हाराहारीमा यस्तो कर्जा प्रवाह भएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

तथ्याङ्क अनुसार मार्जिन प्रकृतिको कर्जाको प्रवाह एकै महिना २.७ प्रतिशत वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले साउनमा ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म भने १ खर्ब ४४ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जबकि, गत असार मसान्तसम्म भने यस्तो कर्जा १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ रहेको थियो ।

अघिल्लो साउनको तुलनामा भने सेयरधितो कर्जा प्रवाह ५८.०६ प्रतिशत वृद्धि भएको हो । गत वर्षको साउन मसान्तसम्म भने बैंक तथा वित्त कम्पनीहरुले ९१ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

साउनमा ५ लाखदेखि १ करोड रुपैयाँ सीमको सेयर कर्जा प्रवाह ५.५५ प्रतिशत वृद्धि भएको देखिन्छ । गत असार मसान्तसम्म यस्तो सीमाको कर्जा १६ अर्ब २ करोड ९७ लाख रुपैयाँ रहेको थियो । तर, साउन मसान्तसम्म आइपुग्दा भने बढेर १६ अर्ब ९१ करोड ७४ लाख रुपैयाँ कायम भएको छ । साउनमा ८८ करोड ७६ लाख रुपैयाँ कर्जा यस्तो सीमामा प्रवाह भएको छ ।
राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै २५ लाख रुपैयाँ सीमाको सेयर कर्जा ६.७ प्रतिशत वृद्धि भएको छ । साउनमा यस्तो शीर्षकको कर्जा ५४ करोड ५६ लाख रुपैयाँ कायम भएको छ ।

ठुलो आकारको सेयर कर्जा प्रवाह पनि २.९ प्रतिशत वृद्धि भएको छ । १ करोड माथिको सीमाको कर्जा एकै महिना २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ कायम भएको छ । यस्तो सीमामा साउन मसान्तसम्म १ खर्ब १ अर्ब ८० करोड ५८ लाख रुपैयाँ प्रवाह भएको छ । जबकि, गत असार मसान्तसम्म ९८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ थियो । गत वर्षको साउन मसान्तसम्ममा पनि यस्तो सीमामा कुल ५८ अर्ब १०करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

अन्य सीमाको कर्जा प्रवाह बढे पनि २५ लाख देखि ५० लाखसम्मको कर्जा प्रवाह भने घटेको छ । गत आसर मसान्तसम्म यस्तो सीमामा १७ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, साउन मसान्तसम्म भने १७ अर्ब ८ करोड ७४ लाख रुपैयाँ कायम भएको छ ।