२ आश्विन २०८३, शुक्रबार

विकास बैंकको नाफा बढ्यो : मुक्तिनाथ र गरिमा बीच कडा टक्कर, अन्य कसले कति कमाए ?



काठमाडौं । विकास बैंकहरुले एक महिनामा झन्डै ८० करोड नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

साउनमा राष्ट्रिय स्तरका विकास बैंकहरुले ७९ करोड ९१ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा अघिल्लो वर्षको साउनको तुलनामा भने सामान्य (०.०७ ) प्रतिशत धेरै हो । अघिल्लो साउनमा आठ विकास बैंकहरुले ७४ करोड २७ लाख २० हजार रुपैयाँ नाफा कमाएका थिए ।

साउनमा सर्वाधिक नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । बैंकले एकै महिना १५ करोड ७२ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ। जबकि, अघिल्लो वर्षको साउनमा बैंकले १६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफाकै आधारमा दोस्रो सूचिमा गरिमा विकास बैंक छ । बैंकले साउनमा १३ करोड ३९ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको साउनमा भने बैंकले ९ करोड ४६ लाख रुपैयाँ बढी नाफा कमाएको थियो ।

तेस्रो सूचीमा रहेको लुम्बिनी विकास बैंकले ११ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा नाफा २.०५ प्रतिशत बढाएको हो ।

यस्तै, कामना सेवा विकास बैंकले पनि साउनमा ९ करोड ३७ लाख रुपैयाँ, ज्योति विकासले ८ करोड ७५ लाख, शाइन रेसुङ्गा डेभलपमेन्टले ८ करोड ५६ लाख, सांग्रिला डेभलपमेन्टले ६ करोड ९५ लाख ७० हजार र महालक्ष्मी विकास बैंकले ६ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यी बैंकहरुले गत वर्षको साउनमा क्रमश: ८ करोड ५८ लाख, २० हजार, ८ करोड ३७ लाख, ९ करोड ८७ लाख, ६करोड ८१ लाख र १० करोड ५७ लाख रुपैयाँ नाफा कमाएका थिए ।