१८ कार्तिक २०८३, बुधबार

सुस्त आर्थिक गतिविधिबीच पनि कर्जा बढाउँदै विकास बैंकः तीन महिनामै १७ अर्ब बढाए लगानी, कुनको कति ?



काठमाडौँ। देशमा विद्यमान आर्थिक मन्दी, सुस्त व्यापार-व्यवसाय र लगानीको अनुकूल वातावरण नभएको भन्दै चौतर्फी निराशा छाएको अवस्थामा राष्ट्रिय स्तरका विकास बैंकहरूले भने कर्जा प्रवाहमा उल्लेख्य सुधार गरेका छन्।

वाणिज्य बैंकहरूले समेत अपेक्षित रूपमा कर्जा विस्तार गर्न नसकिरहेको बेला विकास बैंकहरूले भने व्यावसायिक गतिशीलता बढाउँदै वाणिज्य बैंकहरूलाई छ्याइरहेका छन्।

चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्ममा यी ८ विकास बैंकको कुल कर्जा लगानी ३.७७ प्रतिशतले बढेर ४ खर्ब ६८ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्ममा उनीहरूको कुल कर्जा लगानी ४ खर्ब ५१ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ थियो। यसरी तीन महिनामा विकास बैंकहरूको कर्जा लगानी १७ अर्ब ३ करोड ८२ लाख रुपैयाँले बढेको हो।

कर्जा विस्तारको वृद्धिदरका आधारमा मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा कर्जा लगानी ४.९४ प्रतिशतले बढाएको छ। गत असार मसान्तसम्म १ खर्ब ५ अर्ब ८८ लाख रुपैयाँ रहेको बैंकको कर्जा लगानी ५ अर्ब २२ करोड २५ लाख रुपैयाँले बढेर १ खर्ब ५ अर्ब ४७ करोड ३३ लाख २१ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै, लुम्बिनी विकास बैंकले पनि कर्जा लगानी ४.३२ प्रतिशतले बढाएको छ। गत असार मसान्तसम्म ४७ अर्ब ५ करोड रुपैयाँ रहेको बैंकको कर्जा लगानी २ अर्ब ४ करोड रुपैयाँले बढेर असोज मसान्तमा ४९ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।

कामना सेवा विकास बैंकले पनि तीन महिनामा कर्जा प्रवाह ३.९५ प्रतिशतले बढाएको छ। गत असार मसान्तसम्म ५४ अर्ब २० करोड ३८ लाख ७१ हजार रुपैयाँ रहेको बैंकको कर्जा लगानी २ अर्ब १४ करोड १४ लाख ६२ हजार रुपैयाँले बढेर असोज मसान्तमा ५६ अर्ब ३४ करोड ५३ लाख ३३ हजार रुपैयाँ पुगेको छ।

यसैगरी, ज्योति विकास बैंकले कर्जा लगानी ३.८१ प्रतिशतले बढाएर ५१ अर्ब ४७ करोड ५० लाख रुपैयाँ पुर्‍याएको छ। गत असार मसान्तसम्म बैंकको कर्जा लगानी ४९ अर्ब ५८ करोड ६१ लाख रुपैयाँ थियो। यस अवधिमा बैंकले १ अर्ब ८८ करोड ८९ लाख रुपैयाँ थप कर्जा प्रवाह गरेको हो।

उता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको कर्जा लगानी पनि ३.३१ प्रतिशतले बढेको छ। गत असार मसान्तसम्म ६३ अर्ब २१ करोड ६९ लाख रुपैयाँ रहेको बैंकको कर्जा लगानी २ अर्ब ९ करोड ४३ लाख रुपैयाँले बढेर असोज मसान्तमा ६५ अर्ब ३१ करोड १२ लाख रुपैयाँ पुगेको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले पनि कर्जा प्रवाह २.९७ प्रतिशतले बढाएको छ। बैंकको कर्जा लगानी गत असार मसान्तको ४५ अर्ब ७३ करोड ९२ लाख रुपैयाँबाट १ अर्ब ३६ करोड ६ लाख रुपैयाँले बढेर असोज मसान्तमा ४७ अर्ब ९ करोड ९८ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, गरिमा विकास बैंकले कर्जा लगानी २.५७ प्रतिशतले बढाएको छ। गत असार मसान्तसम्म ७८ अर्ब २१ करोड ५६ लाख रुपैयाँ रहेको बैंकको कर्जा प्रवाह २ अर्ब १ करोड ३६ लाख रुपैयाँले बढेर असोज मसान्तमा ८० अर्ब २२ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

महालक्ष्मी विकास बैंकको कर्जा विस्तार भने यी बैंकमध्ये सबैभन्दा कम देखिएको छ। बैंकले तीन महिनामा कर्जा लगानी १.४१ प्रतिशतले बढाएको छ। गत असार मसान्तसम्म ४३ अर्ब ३४ करोड रुपैयाँ रहेको कर्जा लगानी ६१ करोड रुपैयाँले बढेर असोज मसान्तमा ४३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।

लगानीको वातावरण सहज भैनसकेको र ठूला कर्जाको माग न्यून रहेको प्रतिकूल परिस्थितिमा पनि साना तथा मझौला व्यवसायी र स्थानीय स्तरका आयमूलक क्षेत्रमा ध्यान केन्द्रित गर्दै कर्जा लगानी गरिरहेका छन्।