बाह्य क्षेत्रमा चमक, आन्तरिक क्षेत्रमा दबाब : अहिले कस्तो छ मुलुकको अर्थतन्त्र ?
काठमाडौं । अहिले मुलुकको अर्थतन्त्र दुई विपरित धारमा उभिएको छ । एकातिर, निर्यात, विप्रेषण र विदेशी मुद्रा सञ्चितिले बाह्य क्षेत्रमा सकारात्मक संकेत दिएको छ ।
अर्कोतिर बैंकिङ प्रणाली केही कमजोर देखिएको छ । कर्जा प्रवाह र पुँजी बजार सुस्त रहेको छ । अर्थतन्त्रका बाह्य क्षेत्र थप मजबुत देखिन्छ भने आन्तरिक क्षेत्र भने कमजोर रहेको छ ।
नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को साउन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।
राष्ट्र बैंकका अनुसार बजार महँगीमा राहत मिलेको देखिन्छ । साउनमा उपभोक्ता मुद्रास्फीति घटेर १.६८ प्रतिशतमा झरेको छ । जबकि, अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ४.०९ प्रतिशत थियो । आँकडा अनुसार तरकारी निकै सस्तो भएको देखिन्छ । तरकारी मूल्यमा १८.५६ प्रतिशत घटेको छ । यसले दैनिक उपभोगमा सहजता प्रदान गरेको छ । मरमसलाको महँगी पनि ४.४१ प्रतिशत र माछामासुको २.४१ प्रतिशत घटेको छ ।तर, घ्यू–तेल १०.९७ प्रतिशत, फलफूलको ३.०१ प्रतिशत, शिक्षा ७.६७ प्रतिशत वृद्धि भएको छ ।
समीक्षा अवधिमा कुल निर्यात ९५.७ प्रतिशत बढेको छ । नेपालले एकै महिना २३ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । भारततर्फ निर्यात झण्डै १५६.७ प्रतिशत बढेको छ । तर चीन र अन्य मुलुकतर्फ निर्यात भने क्रमश: ६५.२ प्रतिशत र १.४ प्रतिशत घटेको देखिन्छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैंची, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ । जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पिना, चियालगायतका वस्तुको निर्यात घटेको छ ।
त्यसैबीच आयात पनि ११.४ प्रतिशत बढेर १ खर्ब ४३ अर्ब पुगेको छ । साउनमा कुल व्यापार घाटा १ खर्ब १९ अर्ब कायम भएको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमश: ७.५ प्रतिशत, १४.१ प्रतिशत र २०.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चामल/धान, कोइला, रासायनिक मललगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस्, तेलहनलगायतका वस्तुको आयात घटेको छ ।निर्यात–आयात अनुपात भने सुधार भएर १६.७ प्रतिशत पुगेको छ ।
राष्ट्र बैंकका अनुसार नेपाल भित्र्ने रेमिट्यानस पनि बढ्दो क्रममा नै छ । विदेशमा रहेका नेपालीहरूले साउन महिनामै १ खर्ब ७७ अर्ब ४१ करोड पठाएका छन् । यो अघिल्लो वर्षभन्दा झण्डै ३० प्रतिशत बढी हो । रेमिट्यान्स बढेसँगै विदेशी मुद्रा सञ्चिति बलियो बनाएको छ । साउन मसान्तसम्म सञ्चिति बढेर २८ खर्ब ६ अर्ब पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २० अर्ब ३ करोड पुगेको छ । यसले नेपाललाई वस्तु तथा सेवाको आयात २०.४ महिनासम्म धान्न सक्ने क्षमता दिएको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४० अर्ब ९० करोड रुपैयाँ बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोडले बचतमा रहेको छ ।
साउनमा बैंकिङ क्षेत्र भने अलि कमजोर देखिएको छ । निक्षेप ५५ अर्ब ७९ करोड घटेको छ । साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ७२ खर्ब ८ अर्ब ९ करोड रुपैयाँ कायम भएको छ । यता, बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ हुने कर्जा प्रवाह पनि ०.१ प्रतिशत घटेको छ । समक्षा अवधिमा यस्तो कर्जा ५४ खर्ब ९५ अर्ब कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४ अर्ब ११ करोड अर्थात् ०.३ प्रतिशत बढेको थियो ।
तर, पछिल्लो समय ब्याजदर भने निरन्तर घटेको छ । साउनमा वाणिज्य बैंकहरूको औसत आधारदर ५.७८ प्रतिशतमा झरेको छ, जसले कर्जा लागत सस्तो बनाएको छ । साउनमा ९१ दिने ट्रेजरी बिलको ब्याजदर २.६५ प्रतिशत र औसत अन्तर बैंक दर २.७५ प्रतिशत कायम भएको छ ।
यस्तै, विकास बैंकको औसत आधार दर ७.२८ प्रतिशत र वित्त कम्पनीको ८.८७ प्रतिशत कायम भएको छ । यता, निक्षेप ब्याजदर पनि वाणिज्य बैंक तर्फ ४.०२ प्रतिशत, विकास बैंकको ४.६७ प्रतिशत र वित्त कम्पनीको ५.८५ प्रतिशत छ ।
राष्ट्र बैंकका अनुसार कर्जाको ब्याजदर पनि घटेको छ । वाणिज्य बैंकको कर्जाको औसत ब्याजदर ७.७६ प्रतिशत, विकास बैंकको ९.०९ प्रतिशत र वित्त कम्पनीको ९.९८ प्रतिशत कायम भएको छ ।
साउन मसान्तसम्म नेप्से सूचकांक २ हजार ७८८ अंकमा झरेको छ । बजार पुँजीकरण ४६ खर्ब ५६ अर्बमा सीमित रहेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ७६ प्रतिशत मात्र हो । यसले पुँजी बजारलाई केही कमजोर बनाएको देखिन्छ ।
समग्रमा निर्यात, विप्रेषण र विदेशी मुद्रा सञ्चिति जस्ता सूचकले आशा जगाइरहेका छन् । तर, निक्षेप घटेको छ । कर्जा संकुचन र सेयर बजार कमजोर देखिएका छन् । यस्तो सूचकले आन्तरिक क्षेत्रलाई दबाबमा राखिरहेका छन् ।













