निर्माण व्यवसायीसँग घुस माग्ने लेखा अधिकृत पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्कीलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
सातौं तहका अधिकृत कार्कीले सडक स्तरोन्नतीको बिल भुक्तानी प्रक्रिया सहज बनाइदिने भन्दै एक निर्माण व्यवसायीसँग घुस मागेको भन्ने सूचनाका आधारमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगढी चोकबाट उनलाई रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ ।
कारबाहीमा आयोगको केन्द्रीय कार्यालय र सुर्खेत सम्पर्क कार्यालयबाट खटिएको संयुक्त टोली संलग्न थियो । अख्तियारले स्थानीय तहका आर्थिक अनियमितता र भ्रष्टाचारविरुद्धको अभियान तीव्र बनाउँदै आएको छ ।















