घरजग्गा किनबेच १३ प्रतिशत घट्यो, फेरि किन आयो सुस्तता ? - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

घरजग्गा किनबेच १३ प्रतिशत घट्यो, फेरि किन आयो सुस्तता ?



काठमाडौं । घरजग्गा कारोबार फेरि सुस्ताएको छ । पछिल्लो एकै महिनामा देशभरको कारोबार १३ प्रतिशत घटेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत साउनमा देशभरका मालापोत कार्यालय मार्फत ३१ हजार ६२१ वटा घरजग्गा किनबेच भएको थियो । तर, भदौमा १३.०५ प्रतिशत घटेर २७ हजार ४९४ वटा मात्रै खरिदबिक्री भएको विभागले जनाएको छ ।

विभागका अनुसार गत वर्षको भदौ पनि देशभर ३२ हजार ७९८ वटा घरजग्गा किनबेच भएका थिए । चालु आवको दुई महिनामा ५९ हजार ११५ घरजग्गा खरिदबिक्री भएका छन् ।

भदौमा सबैभन्दा धेरै घरजग्गा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीमा १ हजार ४०२ वटा लिखत पारित भएका छन् । यस्तै, जनकपुरधाममा १ हजार ६०, भ्रदपुर झापामा १ हजार २७ वटा, राजविराज सप्तरीमा ९३७ वटा, भक्तपुर ९१८, बेलबारी मोरङमा ८९३, सिराहा ६८९, मलंगवा सर्लाही ६२६, लगनखेल ललितपुर ६२०, लाहान सिराहामा ६१८ वटा घरजग्गा किनबेच भएका छन् ।

कारोबार घटेसँगै राजश्व पनि दबाबमा देखिएको छ । राजश्व पनि ४.५१ प्रतिशत घटेको छ । विभागका अनुसार गत साउनमा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार रुपैयाँ संकलन भएको थियो । तर, भदौमा भने घटेर ३ अर्ब १४ करोड ७ लाख १६ हजार रुपैयाँ कायम भएको छ ।

कित्ताकाट रोकिएकाले नै कारोबार प्रभावित भएको विभागले जनाएको छ । अहिले स्थानीय तहले जग्गा वर्गीकरण गरेका छैन, त्यसले कित्ताकाट रोकिएको छ । यसले समग्रमा घरजग्गा कारोबार नै कमी आएको विभागले जनाएको छ । कित्ताकाटको समस्या समाधान नहुँदा र स्थानीय तहहरूले वर्गीकरण कार्य नसकेसम्म घरजग्गा बजारमा सक्रियता फर्किने बताइन्छ ।

भदौमा ३ अर्ब १४ करोड बढी राजश्व उठेको छ । विभागका अनुसार १ अर्ब ६३ करोड ८७ लाख ६६ हजार रुपैयाँ रजिष्ट्रेशन दस्तुर उठेको छ । यस्तै, १ अर्ब २० करोड ९२ लाख २९ हजार रुपैयाँ पुँजीगत लाभ कर र सेवा कर बापत २६ करोड २५ लाख ७४ हजार रुपैयाँ संकलन भएको छ ।

राजश्वमा काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरुको योगदन बढी छ । विभागका अनुसार सबैभन्दा ठुलो आकारको राजश्व मालपाते कार्यालय लगनखेल ललितपुरबाट ३५ करोड २३ लाख ७५ हजार रुपैयाँ उठेको छ ।

यस्तै, भक्तपुरबाट २८ करोड ४२ लाख २० हजार, चावहिल काठमाडौंबाट २६ करोड ९८ लाख, डिल्लीबजारबाट २२ करोड ९० लाख र कलंकी काठमाडौंबाट २२ करोड २२ लाख रुपैयाँ राजश्व संलकन भएको छ ।


प्रतिक्रिया दिनुहोस्