छुट्ला है ! सागर डिष्टिलरीको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले भदौ ३० गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका आईपीओ निष्काशन गरेको हाे ।
कम्पनीले ७२ करोड ६० लाख रुपैयाँको पूँजीमध्ये २० प्रतिशत अर्थात १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ जारी गर्न अनुमति प्राप्त गरेको थियो। यसको १० प्रतिशत, जुन १ लाख ४५ हजार २०० कित्ता शेयर, विदेशमा कार्यरत नेपालीहरुलाई वितरण गरिसकिएको छ।
त्यसैगरी, ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषलाई दिइएको छ, र ४३ हजार ५६० कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई सुरक्षित राखिएको छ।
अब, कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर बिक्री गर्दैछ, जसको प्रत्येक कित्ताको मूल्य १०० रुपैयाँ छ। लगानीकर्ताले कम्तीमा १० कित्ताका लागि आवेदन दिनुपर्नेछ, र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।













