शुरू भयो बडादशैँ: आज घटस्थापना, घर–घरमा जमरा राखिँदै
काठमाडौं । आजदेखि नेपालीहरुको महान चार्ड वडा दशैँ शुरु भएको छ । वडा दशैँको पहिलो दिन आज विधिपूर्वक दियो, कलश एवम् गणेशसहित ‘देवी’ स्थापना गरी ‘घटस्थापना’ गरिन्छ ।
पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा सुरु हुने गर्छ ।
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई ‘जमरा राख्ने’ पनि भनिन्छ ।
यसमा मानिसहरुले आफ्नो चलनअनुसार जौमा गहूँ र कतिपयले मकैको बीऊ पनि मिसाएर रोप्ने गर्छन् ।
आजदेखि नौ दिनसम्म देवीको आरधना गरी १०औं दिन विजयादशमीको प्रसाद मानेर जमरा लगाउने गरिन्छ। घटस्थापनाको शुभ साइत आज विहान ९ बजेर १३ मिनेटका लागि उत्तम मानिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो साइत दिएको छ ।
कतिपय नेपाली परिवारले शुक्लपक्षको चद्र उदय भएपछि मात्रै जमरा राख्ने पनि चलन छ । यसरी राखिएको जमरा ९ रातमा लगाइने भएकाले यसैलाई नवरात्र मान्नेहरु पनि छन् । उनीहरुले भने ७ गते साँझ आकाशमा चन्द्रमा उदाएपछि मात्रै ‘जून हेरेर’ जमरा राख्ने गर्छन् ।
जमरा जहिले राखे पनि आजैदेखि नवरात्र शुरु भइसकेको छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ ।
माता आदिशक्ति महामायाका यीनै नौ वटा स्वरुपलाई नवदुर्गा भन्ने गरिन्छ ।
कतिपयले सामूहिक र देवी मन्दिरमा पनि घटस्थापना गरी जमरा राख्ने गर्दछन्। आजदेखि नौ दिनसम्म महाकाली, महालक्ष्मी र महासरस्वती माताको विशेष आरधना गर्ने गरिन्छ।
आजदेखि उपत्यका र देशभरका देवी मन्दिर एवम् शक्तिपीठहरुमा दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ। काठमाडौंको गुहेश्वरी, दक्षिणकाली, यहाँका चार भगवती, काठमाडौँ र भक्तपुरका तुलजा भवानीका साथै देशभरका देवी मन्दिरमा दर्शनार्थीले दर्शन र परिक्रमा गर्ने गर्दछन्।
यस दिन गोरखा दरबार, नुवाकोट दरबार र हनुमानढोका दरबारजस्ता शाहकालिन दरबारहरुमा पनि विधीपूर्वक जमरा राख्ने चलन छ ।













