जेनजी आन्दोलनमा क्षति पुगेको सरकारी सम्पत्ति पुनर्निर्माणका लागि समिति गठन
काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी आन्दोलनका कारण क्षति पुगेका सरकारी सम्पत्ति पुनर्निर्माणका लागि समिति गठन गरेको छ ।
अर्थमन्त्रीको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको हो । जसमा गृहमन्त्री, सहरी विकासमन्त्री र मुख्यसचिव पनि सदस्य रहनेछन् ।
समितिले पुनर्निर्माण कार्ययोजना तयार गर्दै कोषमा रकम जम्मा गर्नका लागि स्रोत पहिचान र परिचालन गर्नेछ । कोषमा सरकार, प्रदेश सरकार, स्थानीय तह, स्वदेशी र विदेशी दातृ निकायबाट रकम जम्मा हुनेछ । समितिले कोषको नियमित अनुगमन गर्ने र आवश्यक नीतिगत निर्णय गर्ने जिम्मेवारी पनि पाउनेछ ।
समितिको अवधि एक वर्षको हुनेछ । आवश्यकता अनुसार थप ६ महिना बढाइने व्यवस्था गरिएको छ । समितिको कामको विवरण त्रैमासिक आधारमा सरकारलाई बुझाउनुपर्नेछ ।













