गाडी बिक्री शून्य, हरायो ग्राहक भरोसा : सिजन तातिरहेकै बेला किन ठप्प छ नेपाली अटो बजार ?
काठमाडौं । राजधानीको थापाथली, जुन अटोमोबाइलका लागि देशकै मुटु मानिन्थ्यो । सधैं दशैं–तिहारको मुखमा रंगीन ब्यानर, चम्किला गाडी र ग्राहकको भीडले रौनक नै फरक हुने गर्थ्यो । यहाँ गाडी हेर्न आएका उत्साहित ग्राहकहरू सेल्फी खिच्दै, अफर सोध्दै, नयाँ मोडेलको चर्चा गर्दै बजारमा उत्साहको माहोल सिर्जना गर्थे ।
तर, यस वर्षको दृश्य अलि भिन्न छ । गत भदौ २३–२४ गतेको ‘जेनजी आन्दोलन’ले मुलुककै ‘अटो हब’ लाई सुनसान बनाइदियो, शून्यमा झारिदियो । थापाथलीका शोरुमहरू धुवाँले ढाकिए । आगोले करिब ३०–५० नयाँ गाडी जलेर खरानी भए ।
आन्दोलनका क्रममा अराजक प्रदर्शनकारीहरुबाट आधा दर्जन शोरुममा आंशिक वा पूर्ण क्षति पुगेको छ । दशैं–तिहारको मुखमा अर्थात् मुख्य व्यापारिक सिजनमा यो अवस्था अटो व्यवसायी र ग्राहक दुवैका लागि ठूलो झट्का बनेको छ ।
अटो बजारको उज्यालो सिजनमा अँध्यारो
साउनको अन्त्य र भदौको सुरुमा सम्पन्न नेपाल मोबिलिटी एक्स्पो र नाडा अटो शोले बजारमा नयाँ उत्साह भरिएको थियो । झन्डै साढे ७ हजार युनिट गाडी बुकिङ भइसकेको थियो । अधिकांश बुकिङ दशैंको मुखमा डेलिभरी गर्ने योजना थियो । तर, आन्दोलनले व्यवसायीको सपना र लगानी दुवैलाई धराशायी बनाइदियो ।
सीजी मोटर्स, टाटा, महिन्द्रा, सुजुकी, हुन्डाई, सिट्रोन लगायतका धेरै ब्रान्ड प्रभावित भएका छन् । ग्राहकको भिडले भरिने शोरुमहरू अहिले आगोले खण्डहरमा परिणत भएका छन् । सीजी मोटर्सका एक्सपेङ, एवोन र स्मार्ट ब्रान्डका १६ युनिट नयाँ गाडी पूर्ण रूपमा जलेका छन् भने सुजुकी, महिन्द्रा, टाटा र हुन्डाई लगायतका शोरुममा पनि ठूलो क्षति पुगेको छ ।
टाटा शोरुममा चार विद्युतीय गाडी पूर्णरूपमा जलेका छन् भने दुई चोरी गरिएका गाडी पनि जलेको अवस्थामा फेला परेका छन् । महिन्द्राका पाँच गाडी जलेका छन्, त्यसमध्ये इलेक्ट्रिक मोडेल पूर्ण रूपमा ध्वस्त छ ।
यस्तै, सुजुकीका ११ गाडीमा क्षति पुगेको छ, दुई पूर्ण जलेका छन् । हुन्डाई र सिट्रोनका गाडीमा आंशिक क्षति भए पनि सिसा फुटेको र भित्री भागमा क्षति पुगेको छ ।
आन्दोलनकै क्रममा भएको तोडफोड र आगजनीबाट केवल गाडी जलेका छैनन्, व्यवसायीको मनोबल र ग्राहकको भरोसा पनि क्षतिग्रस्त भएको छ । एक अटो व्यवसायी भन्छन्,‘दशैंको मुखमा सिजन तातिरहेको हुनुपर्ने थियो । तर, अहिले बजारको ऊर्जा सुस्त, ग्राहकको चासो घटेको छ । हामी अहिले हात बाँधेर बसेका स्थिति छ ।’
ग्राहक मनोबल र लगानीमा असर
आन्दोलनले व्यवसायीको लगानी मात्र नभई ग्राहकको विश्वासमा पनि गम्भीर असर पारेको छ । ग्राहकहरूले देशको राजनीतिक अस्थिरता र आन्दोलनका कारण उत्पन्न अन्योलताले गर्दा गाडी खरिदबाट पछि हटेका छन् ।
व्यवसायीहरूका अनुसार केही शोरुममा ६०–७० प्रतिशत बुकिङ रद्द भएका छन् । नयाँ मोडेलमा चासो राखेका ग्राहक अहिले पुरानो गाडी चलाउने विकल्प सोचिरहेका छन् । यसले केवल बिक्रीमा गिरावट मात्र ल्याएको छैन । उद्योगको दीर्घकालीन लगानी वातावरणमा पनि अनिश्चितता थपेको छ ।
नाकामा अवरोध र ढुवानी चुनौती
चीनबाट आयात हुने सवारीसाधनमध्ये करिब ६५ प्रतिशत हिस्सा रोकिएको छ । तातोपानी र रसुवागढी नाका बाढी–पहिरोबाट अवरुद्ध भएपछि थप समस्या उब्जिएको हो । यतिबेला व्यवसायीहरूले महँगो र ढिलो पर्ने कोरला नाका प्रयोग गर्न थालेका छन् । यसले दशैं–तिहारको मुख्य सिजनमा डेलिभरी र ग्राहक सन्तुष्टि दुबैमा प्रभाव पारेको छ ।
व्यवसायी र उद्योगको भविष्य
नेपाली अटो बजारमा प्रत्येक वर्षको ४०–५० प्रतिशत बिक्री दशैं–तिहारमै हुने गरेको छ । तर, जेनजी आन्दोलनले यो वर्ष भने गाडी बिक्रीमा ठूलो गिरावट ल्याएको छ । बजारको भावनात्मक ऊर्जा, ग्राहकको भरोसा र लगानीको वातावरणमा दीर्घकालीन असर गरेको छ । व्यवसायीहरू अनुमान अनुसार वर्तमान राजनीतिक अस्थिरता र सुरक्षा अभावको कारण बजार पुन: स्थिर हुन कम्तीमा दुई–तीन वर्ष लाग्न सक्छ ।
थापाथली, जुन दशैं–तिहारमा उत्सवको प्रतीक थियो । अहिले धुवाँ, भग्नावशेष र जलिएका सपनाहरूको प्रदर्शनी बनेको छ । नयाँ गाडीको सपना बुन्न आएका ग्राहक, लगानीको अपेक्षा राखेका व्यवसायी र उद्योगको भविष्य संकटमा छन् । अब राज्यको सक्रिय हस्तक्षेप र स्थिर वातावरणको प्रत्याभूति नदिइएमा सिजनको बिक्री मात्र नभई समग्र अटो उद्योगको भविष्य चुनौतीपूर्ण बन्ने देखिन्छ ।
सरकारको राहत प्याकेजले जगायो आशा
यद्यपि, सरकारले जेनजी आन्दोलनले प्रभावित नेपाली अटोमोबाइल उद्योगलाई पुन: सशक्त बनाउन विशेष राहत प्याकेज घोषणा गरेको छ ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले यसलाई उत्साहका साथ स्वागत गर्दै उद्योग पुनर्निर्माणमा सहकार्य थप बलियो हुने विश्वास व्यक्त गरेको छ ।
राहत प्याकेजमा ५० प्रतिशत अग्रिम बीमा भुक्तानी, ८० प्रतिशत बैंक कर्जा सुविधा, भन्सार छुट, कर सहुलियत र रोजगारी सुरक्षा जस्ता प्रावधानहरू समावेश छन् ।
नाडाका अनुसार यी कदमहरूले उद्योगी व्यवसायीलाई तत्काल राहत दिँदै दीर्घकालीन स्थिरता र आर्थिक समृद्धिमा ठूलो योगदान पुर्याउने छन् । उद्योग पुनरुद्धारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यलाई अझ मजबुत बनाउँदै, नाडाले समग्र अटो उद्योगमा सुधारका लागि रोडम्याप र पूर्वाधार विकासमा जोड दिन सरकारलाई आग्रह गरेको छ ।













